• १२ साउन २०८१, शनिबार

विश्व रेडियो दिवसको अवसरमा देउडा प्रतियोगिता

blog

जुम्लामा विश्व रेडियो दिवसको अवसरमा देउडा प्रतियोगिता ।

नेत्र शाही 

जुम्ला, फागुन १ गते । जुम्लामा विश्व रेडियो दिवसको अवसरमा देउडासहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जुम्लाका स्थानीय रेडियोहरु रेडियो कर्णाली, रेडियो माउन्टेन, रेडियाे नारी आवाज र रेडियो खुला आकाशले संयुक्त रुपमा दिवस मनाएका छन् । 

फागुन २ गते विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियोले बाल विवाहविरुद्ध सन्देशमूलक देउडा लागु औषध दुर्व्यसनी तथा रोकथामका विषयक दोहोरी प्रतियोगिता, ज्येष्ठ नागरिकलाई सम्मान र निजामति कर्मचारी तथा पत्रकारहरुका बीचमा मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको आयोजकले जनाएको छ । 

पहिलो दिन देउडामार्फत् बालविवाह र लागुऔषधका विरुद्धमा गीतका माध्यमबाट सन्देशमूलक देउडा र दोहोरी प्रतियोगिताको आयोजना गरिएको छ । आयोजकका अनुसार  देउडामा २० वटा समूह र दोहोरीमा ६ वटा समूहको सहभागिता छ । माघ २८ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन २ गते दिवसका अवसरमा समापन गरिनेछ । 

प्रतियोगिताको पहिलो दिन १० वटा समूहकाबिच देउडा भएकोमा ५ वटा समूह विजयी भएका छन् । आयोजकका अनुसार जुनतारा आमा समूह र देउती आमा समूहबिच भएको प्रतियोगितामा देउती आमा समूह विजेता भएको छ । 

सामुदायिक रेडियो प्रसारक संघ-अकोराव) कर्णाली अध्यक्ष गोरखबहादुर थापाले तलिउम देउडा समूह र सुरक्षित आमा समूहका बिच भएको प्रतिस्पर्धामा सुरक्षित आमा समूह विजेता भएको छ । यसैगरी, दुनेला आमा समूह र पञ्चदेवल देउडा समूहकाबिच भएको प्रतियोगितामा पञ्चदेवल देउडा समूह विजेता भएको छ । भगवती आमा समूह र ढाँणथपाला पुरुष देउडा समूहकाबिच प्रतिस्पर्धा भएकोमा भगवती आमा समूह विजेता भएको छ । यसैगरी परिवर्तन आमा समूह र सहिद गेट देउडा समूहकाबिच भएको प्रतियोगितामा सहिद गेट देउडा समूह विजेता भएको छ । 

जिल्लाका रेडियोहरुको आयोजनामा मनाइएको दिवसको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले सङ्कटको समयमा सुचनाको माध्याम महत्वपूर्ण भएकाले रेडियो सहितका सञ्चार माध्यमको प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । 

चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले मिडियाको सवालमा सञ्चार बनाउनुपर्ने वा के गर्ने हो सुझाव आएमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सञ्चार माध्यामलाई जोगाई राख्ने विषयमा स्थानीय सरकार एकबद्ध भएको छ । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सूचना यति महत्वपूर्ण माध्याम भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ शाखा कार्यालय जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले रेडियोको विकास नेपालमा कसरी भयो भन्ने विषयमा जानकारी गराउदै सङ्कटमा पर्न थालेको सञ्चार क्षेत्रलाई प्रथामिकता दिन स्थानीय सरकारलाई अनुरोध गर्नुभयो । उहाँले स्थानीय तहको बजेटमा एक प्रतिशत मिडिया क्षेत्रमा विनियोजन सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । 

रेडियो कर्णाली एफ एमका स्टेशन म्यानेजर तथा अकोराव कर्णाली अध्यक्ष गोर्खबहादुर थापाले कर्णालीमा सूचना र सचेतना जगाउन रेडियो कर्णालीसहित अहिले अरु रेडियोको स्थापना भएकोमा जोड दिनुभयो ।