• २१ वैशाख २०८१, शुक्रबार

कृषिबाटै आर्थिक समृद्धि सम्भव छः मन्त्री भुषाल

blog

हेटौँडा उपमहानगरपालिका ५५ औँ नगर स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषाल । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, फागुन १ गते ।
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषाल नेपालमा कृषिबाटै समृद्धि सम्भव रहेको बताउनुभएको छ ।

उहाँले कृषि र पशुपालनमा प्रविधिको प्रयोग आवश्यक भएको बताउँदै कृषिका लागि आवश्यक मल, बिउ, सिँचाइ सुविधाको समन्वय भएमा कृषि आर्थिक वृद्धिसँगै प्रगतिको प्रमुख आधार बन्ने बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका ५५ औँ नगर स्थापना दिवसको अवसरमा मङ्गलबार हेटौँडामा आयोजित कार्यक्रममा उहाँले आयातलाई प्रतिस्थापन गर्ने गरी कृषिको विकास आवश्यक भएको बताउनुभयो ।

उहाँले यो वर्ष धानमा उत्पादन वृद्धि हुँदासमेत अझै आयात गर्नुपर्ने अवस्था रहेको बताउँदै कृषि र पशुपालन क्षेत्रको विकासका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्यमा जोड दिनुभयो ।

मन्त्री भुषालले पशुपालनको नेपालमा राम्रो सम्भावना रहेको बताउँदै भैंसीपालनबाट मासु र दुध दुवै पाउने भएकोले सरकारले यसक्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरले समानुपातिका विकासमा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, नेपाली कांग्रेस मकवाानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका उपसचिव सीता विष्ट, नेकपा माओवादी केन्द्रका सागर बानियाँ, नेकपा एकीकृत समाजवादी अध्यक्ष विष्णुप्रसाद दाहाल, जनता समाजवादी पार्टीका सोमबहादुर घलान,  वक्ताहरु नगरस्तरीय बाल सञ्जालका सचिव प्रकृति भण्डारीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा पत्रकारहरु गणेश दुलाल, अमृत चिमोरिया, भावना रिजाल, सुनीता विष्ट र निशा गुरुङसहित नगरको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने सङ्घसंस्था, सामाजिक अभियानकर्ता, कर्मचारीलगायतलाई सम्मान गरिएको थियो ।