• १९ फागुन २०८०, शनिबार

किशोर विवेक सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी

blog

झोता (बझाङ),  फागुन १ गते । बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा  किशोर विवेक सागर निकै चर्चामा रहनुभयो  । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उहाँ चर्चाको शिखरमा पुग्नुभएको हो  ।

खप्तडछान्ना गाउँपालिकास्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्पतर्फ स्वर्णपदक जित्नुभएको हो । पाँच दशमलव छ फिट उचाइ जम्प गर्दै उहाँले स्वर्णपदक हात पार्नुभएको हो ।  अहिले उहाँलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन् । एक फेसबुक प्रयोगकर्ताले लेख्नुभएको छ, “ओएमजी ! खप्तड (खप्तडछान्ना गाउँपालिका)को उड्ने चरो रहेछ त । प्वाँख फिटिङ गरेको छ कि क्या हो ।” त्यस्तै विकास जप्रेल नाम गरेका अर्का व्यक्तिले लेख्नुभएको छ, “यो भाइ त चरो हो । चरोको जस्तै उड्छ । म त यिनको फ्यान भइसकेँ”, यसरी सागरले सामाजिक सञ्चालमा चर्चा कमाइरहनुभएको छ ।

सागर  खप्तड माविमा कक्षा ९ मा पढ्नुहुन्छ । स्थायी ठेगाना बाजुरा भए पनि खप्तड माविमा अध्ययन गरिरहनुभएका उहाँ विशेषगरी एथलेटिक्स र सङ्गीतमा रूचि राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो रूचिको खेल एथलेटिक्सभित्र उफ्रने, फ्याँक्ने, दगुर्ने नै हो । सङ्गीत तथा डान्सिङ पनि उत्तिकै मन पराउँछु ।”

उहाँका अनुसार खप्तड माविमा भर्ना हुनुअघि पनि उहाँ एथलेटिक्सका विभिन्न विधामा अभ्यास गर्नुहुन्थ्यो । “यस्तो अवसर आउला भन्ने सोचेको थिइनँ । मौका मिल्यो, मेरो अभ्यासले पनि काम ग¥यो ।” सागरले भन्नुभयो ।

को हुन् सागर ?

चौध वर्षअघि बाजुराको खप्तडछेडेदह गाउँपालिका–६ मा जन्मिएका सागर पाँच वर्ष नपुग्दै बुवा बुदेसँग भारतको नयाँदिल्ली जानुभयो । पछि आमासहित दाइ दिदीहरू गएपछि उहाँहरूको बाल्यकालको समय भारतमै बित्यो ।

किशोरावस्थादेखि नै भारतमा चौकीदारी गर्दै आएका बुदे बेला–बेलामा सबै सन्तानलाई भारतमा घुमाउनुहुन्थ्यो । सागर जन्मपछि भने उहाँहरूको बसाइ भारतमै भयो । घरमा बसेर पाँच सन्तानलाई पाल्न, पढाउन निकै समस्या भएपछि सागर परिवारले केही काम गर्ने र सन्तानलाई पढाउने सोचपछि उहाँहरू दिल्लीमा बस्न थाल्नुभयो ।

सागरकी जेठो दिदी विपनाका अनुसार सङ्गीतमा रूचि भएका भाइहरूको पढाइ बिग्रिन थालेपछि सबै भाइबहिनीलाई लिएर बुवाआमा भारत जानुभएको थियो । भारतमा पनि उहाँहरूलाई पढाइ गर्न त्यति सजिलो थिएन । “भारतमा पनि बुवाआमाले कमाएको पैसाले खान र पढाउन मुस्किल भयो । त्यसै बीचमा जेठो र माइलो भाइले पढाइ छोडे”, विपनाले भन्नुभयो ।

“मैले दुःखसुखले पढेपछि बझाङको खप्तडछान्नामा बिहे गरेँ”, उहाँले भन्नुभयो, “त्यसपछि खप्तडछान्ना स्वास्थ्यचौकीको प्रयोगशाला फाँटमा जागिर पाइयो । बुवाआमालाई सजिलोका लागि कान्छो भाइ विवेकलाई समेत ल्याए र खप्तड माविमा भर्ना गराए ।”

विवेक विद्यालयमा पनि अहिलेसम्म मध्यम क्षमता भएको विद्यार्थीमा गनिनुहुन्छ । उहाँले भन्नुभयो “भाइलाई बझाङ ल्याएपछि उसले निकै फुर्सद मानेर खेलकुद, सङ्गीत तथा पढाइलाई सँगसँगै लिइरहेको छ ।” पछि नतिजा राम्रै आउनेछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो । रासस