• १३ मंसिर २०८१, बिहिबार

कार्य सम्पादनमा वराहक्षेत्र नगरपालिका उत्कृष्ट

blog

बाबुराम कार्की 

वराहक्षेत्र, माघ २९ गते । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाका पालिकाहरूमध्ये पहिलो स्थान प्राप्त गरेको छ । जिल्लाका १२ वटा पालिकाहरूमध्ये वराहक्षेत्र नगरपालिकाले सय पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको हो ।

जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमध्ये सबैभन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । सङ्घीय सरकारले आउँदो आर्थिक वर्षको बजेट निर्माणमा स्थानीय तहलाई विनियोजन गर्ने ससर्त र निसर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन गर्दै आएको छ । 

संस्थागत क्षमता स्वमूल्याङ्कनमा धरान उपमहानगरपालिकाले ७१ दशमलव ५, रामधुनी नगरपालिकाले ७३ दशमलव,  इटहरी उपमहानगरले ८१ दशमलव २५ अङ्क प्राप्त गरेको छ । गत आर्थिक वर्षमा पनि उत्कृष्ट, प्रभावकारी कार्य सम्पादन गरेको वराहक्षेत्र नगरपालिकाले यस वर्ष पनि उत्कृष्ट अङ्क हासिल गरेको हो ।

मूल्याङ्कनका दश वटा विषयगत क्षेत्रमा वराहक्षेत्र नगरले आफ्नो कार्यसम्पादनमा उल्लेखनीय सुधार गर्दै अङ्क बढाएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।  

वराहक्षेत्र नगरपालिकाले सय पूर्णाङ्कमा शासकीय प्रबन्धमा १०० शतप्रतिशत अङ्क प्राप्त गरेको छ । त्यस्तै सङ्गठन तथा प्रशासनमा १०० अङ्क, वार्षिक बजेट तथा योजनामा व्यवस्थापनमा ८६ दशमलव ३६ अङ्क पाएको हो । वित्तीय र आर्थिक व्यवस्थापनमा १०० अङ्क, सेवा प्रवाहमा ९३ दशमलव ७५ अङ्क, सहकार्य र समन्वयमा ३३ दशमलव ३३ अङ्क प्राप्त गरेको छ ।

त्यस्तै न्यायिक कार्य सम्पादनतर्फ १०० अङ्क, भौतिक पूर्वाधार तर्फ ९२ दशमलव ३१ अङ्क, सामाजिक समावेशीकरणमा १०० अङ्क, वातावरण संरक्षण तथा बिपद व्यवस्थापनमा ८३ दशमलव ३३ अङ्क प्राप्त गरी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को सय पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको वराहक्षेत्र नगरका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।