• ७ जेठ २०८१, सोमबार

घट्खोलामा मोटरेबल पुल निर्माण

blog

घट्खोलामा मोटरेबल पुल निर्माण । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, माघ २९ गते । देशकै पहिलो ग्रामीण गाउँ सिरुवारी तथा पर्वत जिल्ला जोड्ने अर्जुनचौपारी ३ घट्खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पुल नहुँदा वर्षादको समयमा जोखिम मोल्नुपर्ने तथा थप दुई घण्टा लामो यात्रा गर्नुपर्नेमा पुलको निर्माण तीव्र रूपमा अगाडि बढाइएको हो ।

सब इन्जिनियर सन्दीप बोगटीले साढे १० मिटर लम्बाइ रहेको पुल साँढे पाँच मिटर चौडा हुने बताउनुभयो । अगेरे भँगेरे निर्माण सेवा अर्जुनचौपारी ६ ले टेण्डर रकममा २७ प्रतिशत छाडेर एक करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा निर्माण अगाडि बढाएको हो ।

सङ्घीय सरकारको ५० लाख र पालिकाको बाँकी बजेटमा मोटरेबल पुल निर्माण हुनेछ । निर्माण कम्पनीले एक वर्षमा काम सक्नेगरी गत पुस १२ गते सम्झौता गरेको थियो । निर्माण व्यवसायी युवराज गुरुङले एक वर्षको समय रहे पनि छ महिनामा पुल निर्माण सक्ने बताउनुभयो । 

पुल नहुँदा चार वर्ष पहिले सहरेखोला पुल शिलान्यासमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको गाडी बगाएको थियो । 

साढे दुई किमी कालोपत्रे हुँदै 

यस्तै, गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा दुई किमी छ सय मिटर कालोपत्रे अगाडी बढाएको छ । चार किलोमिटर मात्र कालोपत्रे रहेको यहाँ सङ्घीयतापछि गाउँपालिकाले पहिलो पटक पालिकाभित्र कालोपत्रे गर्ने काम अगाडि बढाएको हो । 

वडा नं ३ को कार्यालय जाने दिर्जेखोला सिमलचौर सडक एक किमी एकसय मिटर र वडा नम्बर जोड्ने सडक डेढ किमी कालोपत्रे गर्न लागिएको हो । वडा नं ३ जोड्ने सडक कैलमाण्डु अगेरेभगेरे जेभीले एक करोड ४३ लाख ७३ हजार १५८ रुपियाँ ६२ पैसामा निर्माण गर्न लागेको हो । वडा नं ३ सडक केन्द्रको ३० लाख र बाँकी गाउँपालिकाको बजेट हो । 

यस्तै, वडा नं २ सडक शीतलादेवी निर्माण सेवा पुतलीबजारले एक करोड १५ लाख सात हजार ५२२ रुपियाँमा निर्माण गरेको हो । यो सडक गाउँपालिको निर्माण गर्न लागेको हो । दुवै सडक प्रिमिक्स कारपेट कालोपत्रे हो ।