• १२ साउन २०८१, शनिबार

सडक अलपत्र पार्नेको धरौटी जफत

blog

वर्षाैंदेखि अलपत्र मङ्गलगढी–काँक्रेविहार सडक । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, माघ २९ गते । पर्यटकीय स्थल काँक्रेविहार पुग्ने सडक वर्षौंदेखि अलपत्र पारेपछि निर्माण कम्पनीको धरौटी रकम जफत गरिएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले अमर–सिस्ने नेपाल–मेघा कम्पनीको अग्रिम भुक्तानी रकम जफत गरेको हो । 

वीरेन्द्रनगरको मङ्गलगढी चोकबाट लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीयले समेत सास्ती भोग्नु परेको छ । पूर्वाधार विकास निर्देशनालयका सब–इन्जिनियर प्रेमचन्द्र पाण्डेका अनुसार पटक पटक ताकिता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि धरौटी रकम जफत गरिएको हो । कम्पनीको धरौटीबापतको ८७ लाख रकम जफत गरिएको जनाइएको छ । नियम अनुसार ८७ लाख रकम जफत गरी कम्पनीलाई अब कालो सूचीमा राख्ने तयारी भइरहेको छ ।

नगरपालिकाले समेत पूर्वाधार विकास निर्देशनालय सुर्खेतलाई ठेक्का तोड्न अनुरोध गर्दै आएको थियो । काम नगर्ने ठेकेदारको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत काम गर्न सुझाव दिइएको थियो । 

निर्देशनालयका सब इन्जिनियर पाण्डेले सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको, काम गर्छु भन्दै झुक्याएको र अटेरी गरेका कारण कार्यालयले कानुनी कदम चाल्नु परेको बताउनुभयो । उहाँले सजायस्वरूप धरौटी रकम जफत गरिएको र कार्यालयले थप कानुनी प्रक्रिया अघि बढाएको बताउनुभयो । प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरी उक्त सडकको काम अघि बढाएका थिए तर अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको हो । पछिल्लो पटक २०७८ सालमा पुनः सम्झौता गरिएको थियो ।

कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ मङ्सिर १४ मा अमर–सिस्ने नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको थियो । २०८० साल असार १५ सम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको हो । पछिल्लो सम्झौता अनुसार २०८० फागुन १५ सम्म काम सम्पन्न भइसक्नुपर्ने जनाइएको छ । १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार कम्पनीले काम नगरेपछि अहिले कम्पनीको धरौटी जफत गरिएको छ ।

दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ४३ प्रतिशत मात्र सकिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार दुई करोड ७७ लाख रुपियाँ भुक्तानी भइसकेको छ । ठेक्का सम्झौता सकिन करिब १७ दिन मात्र बाँकी रहेको पूर्वाधार विकास निर्देशनालयका सब इन्जिनियर पाण्डेले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिको काम थालिएको दुई वर्षसम्म ४३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । सडकमा अहिलेसम्म नाला निर्माण, फिलिङ गर्नेलगायतका काम मात्रै भएका छन् । ठेकेदारको लापरबाहीका कारण बनेको पूर्वाधारका काम पनि जीर्ण बनिरहेको निर्देशनालयले जनाएको छ ।

निर्माण अवधि सकिन १७ दिन मात्र बाँकी छ । निर्माण अवधि सकिएलगत्तै थप कानुनी प्रक्रिया थाल्ने कार्यालयले जनाएको छ । कार्यालयका सब इन्जिनियर पाण्डेका अनुसार निर्माण अवधि रहँदै ठेक्का तोड्न नमिल्ने भएकाले धरौटी रकम मात्र जफत भएको छ । अन्य कानुनी प्रक्रिया फागुनपछि थालिने जनाइएको छ ।