• १३ असोज २०८१, आइतबार

स्वास्थ्य चौकी भवन हस्तान्तरण

blog

नवनिर्मित स्वास्थ्य चौकी भवन । तस्बिर: गोरखापत्र

बाबुराम शर्मा

दोलखा, माघ २९ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका—९ को उत्तरी दुर्गम सिमी गाउँमा नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ । एक कार्यक्रमबिच सुविधा सम्पन्न नवनिर्मित सो स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत २०७२ सालको भूकम्पपछि सो भवन निर्माण गरिएको हो । हस्तान्तरित भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापको तीन करोड लगानीमा दुई तले भवन निर्माण गरिएको हो । २०७८ साल आर्थिक वर्षबाट निर्माण सुरु भएको सो भवन २०७९ साल कात्तिकमा निर्माण सम्पन्न भएको हो । 

यो १० कोठाको दुई तले भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएसँगै यहाँका सिमी गाउँ, वेदिङ, नागाउँ र रिकुलगायतका स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाउन लागेका छन् । यसअघि तीन कोठे अस्थायी टहराबाट बिरामीलाई सेवा दिदैं आइएको थियो । 

भवन हस्तान्तरण वडाध्यक्ष ङिमगेली शेर्पाको अध्यक्षता र गाउँपालिका अध्यक्ष विश्वास कार्कीको प्रमुख आतिथ्ययतामा भएको थियो । कार्यक्रममा गाउँपालिका प्रवक्ता युगबहादुर बस्नेत, स्वास्थ्य चौकी इन्चार्ज धर्मेन्द्रजंग हमाल र स्थानीयको उपस्थिति रहेका थियो । 

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणका लागि चार रोपनी जग्गा दान गर्ने चने शेर्पा र यस वडामा २५ वर्षसम्म महिला स्वास्थ्य स्वयम सेविकाको रूपमा सेवा प्रदान गरेकी मैयाँ श्रेष्ठलाई सम्मान गरिएको थियो ।