• ३ असार २०८१, सोमबार

स्वास्थ्य संस्थाका लागि डेढ सय कर्मचारीको दरबन्दी स्वीकृत

blog

फडिन्द्र अधिकारी

लेखनाथ, माघ २९ गते । गत पुस २९ गते सुरु भएको पोखरा महानगरपालिकाको १४ औँ नगर सभा आइतबार राति सकिएको छ । सभाले महानगरका स्वास्थ्य संस्थाका लागि एक सय ५४ नयाँ दरबन्दी स्वीकृत गरेको छ ।

महानगरले चार मेडिकल अधिकृत, एक जनस्वास्थ्य अधिकृत, २९ हेल्थ असिस्टेन्ट, २८ अहेव, ४३ अनमी, चार स्टाफ नर्स, नौ ल्याब असिस्टेन्टको दरबन्दी सिर्जना गरेको हो । यस्तै, दुई फार्मेसिस्ट, एक वैद्य, दुई कविराज, दुई सहायक कम्प्युटर अपरेटर र २९ अरू विभिन्न पदको दरबन्दी स्वीकृत गरेको हो ।

नगर सभाले रिक्त महानगरको न्यायिक समिति सदस्यमा पोखरा १३ की वडा सदस्य रजनी परियारलाई नियुक्त गरेको छ । परियारले नगर प्रमुख धनराज आचार्यसँग पद तथा गोपनीयताको शपथ लिइसक्नु भएको छ । यसअघि पोखरा–९ की वडा सदस्य भावना श्रेष्ठले जग्गा विवादमा रकम सेवाग्राहीबाट रकम लिएको सार्वजनिक भएपछि न्यायिक समितिबाट राजीनामा दिनुभएको थियो । 

सभाले तीन विधेयक तथा प्रतिवेदनहरू पारित गरेको छ । विधायन समिति संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकारसम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मत पारित भएका छन् ।

पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मञ्जु देवी गुरुङले सभामा पेस गर्नुभएको समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समिति संयोजक झपटबहादुर रानाभाटद्वारा प्रस्तुत सार्वजनिक लेखा समितिको प्रतिवेदन पनि पारित भएका छन् । 

पुस २९ गते कर विवादले स्थगित भएको सभाले एक महिनापछि अध्ययन कार्यदलको सुझाव अनुसार कर छुट दिने निर्णय गरेको छ । आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्न गठित कार्यदलको प्रतिवेदन अनुसार एकीकृत सम्पत्ति कर र भूमि करमा असार मसान्तसम्म १५ प्रतिशत र व्यवसाय करमा १० प्रतिशत छुट दिने निर्णय सभाले गरेको छ । कर तिरिसकेकाको हकमा आगामी आर्थिक वर्ष तिर्नुपर्ने करमा समायोजन गर्ने निर्णयसमेत भएको छ ।