• १२ साउन २०८१, शनिबार

माओवादी केन्द्रीय समिति बैठक

पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढियो

blog

काठमाडौँ, माघ २९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले पार्टी तल्लो वर्गसँगको सम्बन्धबाट टाढिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौँको राष्ट्रिय सभा गृहमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा चारमहिने अभियानको रिपोर्टिङ राख्ने नेताहरूले तल्लो वर्गलाई समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने सुझाव दिएका हुन् । 

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने अधिकांश नेताहरूले तल्लो वर्गमा पार्टीलाई क्रियाशील बनाएर बलियो बनाउनुपर्ने सुझाव दिएको बताउनुभयो । “पहिला पार्टी सबल, सुदृढ हुँदै राम्रा उपलब्धि हासिल गर्‍यो । नेता कार्यकर्तामा वर्ग दृष्टिकोण राम्रोसँग प्रकट हुन्थ्यो । तल्लो वर्गमा पार्टी सधैँ क्रियाशील भएकाले बलियो भयो,” उहाँले भन्नुभयो, “अहिले पार्टीले वर्ग छोडेर वर्ग दृष्टिकोण कमजोर हुँदै गयो । जसले गर्दा कतिपय सन्दर्भमा तिखा आलोचना हुने गरेका छन् ।” प्रवक्ता सापकोटाले पार्टीको चारमहिने अभियानमा ठुलो जनपरिचालन, विकास निर्माणलगायत विविध रचनात्मक कार्यक्रम भएको बताउनुभयो । 

माओवादी केन्द्रले अभियान चलाएपछि पार्टी छाड्ने क्रम रोकिएर अरू पार्टीबाट आउने क्रम बढेको नेताहरूले रिपोर्टिङ राखेका छन् । प्रवक्ता सापकोटाले पार्टी बैठकमा नेताहरूले अभियानका क्रममा घाइते, अपाङ्गता भएका र बेपत्ता परिवार धेरै पीडित भएको उल्लेख गरेको बताउनुभयो । “पीडित परिवार बेपत्ता भएको परिवार आउँछ कि भनेर आशामा पर्खेर बसेका छन् । सबैको जोडदार माग हाम्रो परिवार कसरी बेपत्ता भए भनेर तथ्यगत जानकारी दिइयोस् भन्ने छ,” उहाँले भन्नुभयो । उहाँले बैठकमा नेताहरूले पार्टीको अभियानमा ७५ प्रतिशत नेता कार्यकर्ता सक्रिय भएको तथ्याङ्क आएको जानकारी दिनुभयो । 

“पार्टीको चारमहिने अभियानबाट पार्टी सेल कमिटीसम्म सङ्गठन बनेका छन् । जनवर्गीय सङ्गठनको एकाइसम्म कमिटी बनेको रिपोर्ट प्रस्तुत भएको छ ।  रिपोर्टमा कसले कति काम गर्‍यो ? को सक्रिय र को निष्क्रिय भयो भन्ने कुरा आएका छन् । यसबाट मूल्याङ्कनको राम्रो आधार बन्यो,” उहाँले भन्नुभयो । पार्टीको अभियानबाट मूल्याङ्कन गर्नुपर्ने पद्धतिको विकास भएको बताउँदै उहाँले सक्रिय व्यक्तिलाई प्रोत्साहन र निष्क्रिय व्यक्तिलाई दण्डित गर्नुपर्ने विषय उठेको बताउनुभयो ।

बैठकमा पार्टी उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले सहरी क्षेत्रमा पार्टी निर्माणको सम्भाव्यता अध्ययन गरिएको धारणा राख्नुभएको केन्द्रीय सदस्य विशाल खड्काले जानकारी दिनुभयो । “अभियानको अवधिभर फिल्डमा धेरै खटियौँ । मूलतः अभियान सफल भएको छ । पार्टीमा नयाँ उत्साह थपिएको छ,” शर्माको भनाइ उल्लेख गर्दै खड्काले भन्नुभयो, “पार्टीले वर्ग छोडेको छ । सङ्गठनमा दलाली प्रवृत्ति हाबी हुँदै गएको छ ।” पार्टी उपमहासचिव एवं उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले अभियान सफल भएको बताउँदै पछिल्लो समय अन्य पार्टीबाट आउने क्रम बढेको बताउनुभयो । 

पार्टी उपमहासचिव एवं कर्णाली प्रदेशका इन्चार्ज मातृका यादवले सबैभन्दा राम्रो पार्टी कर्णालीमा भएको जिकिर गर्दै पार्टीमा धम्की र घुर्की देखाउने प्रवृत्त नराम्रो भएको बताउनुभयो । उहाँले पार्टीको लेबी नबुझाउने मधेशमा मात्रै नभएर कर्णालीमा समेत देखिएको भन्दै दुःख व्यक्त गर्नुभयो । यस्तै पार्टी सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीमा काम नगरी गफ गर्ने प्रवृत्ति हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पार्टीमा गुट चलाएर सङ्गठन बिगार्ने प्रवृत्तिलाई अभियानले निस्तेज पारेको उहाँले दाबी गर्नुभयो । पार्टी सचिव एवं मधेश प्रदेशका इन्र्चाज लीलामणि पोखरेलले मधेश भौगोलिक रूपमा सहज भए पनि विकासमा पछि परेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको अभियान दलित र तल्लो वर्गसम्म पुर्‍याउन सफल भएको दाबी गर्नुभयो ।