• १२ साउन २०८१, शनिबार

अग्नीसाइर कृष्णावरन गाउँपालिकामा तालाबन्दी

blog

देवरामप्रसाद यादव

सप्तरी, माघ २८ गते । सप्तरीको अग्नीसाइर कृष्णावरन गाउँपालिकामा स्थानीयवासीले तालाबन्दी गरेका छन् ।  मालपोत कार्यालय सप्तरीले रोक्का गरेको बजारको जग्गा गाउँपालिकाले फुकुवा गर्न पत्राचार गरेपछि स्थानीयवासीले गाउँपालिका कार्यालयमा आइतबार तालाबन्दी गरेको हो ।

गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले इटहर्वा बजारको विवादित जग्गा फुकुवा गर्न मालपोत कार्यालय सप्तरीलाई पत्राचार गरेका निर्णय फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन् ।

सो जग्गा ३४ वर्षदेखि हटियाले उपभोगगरी रहेको सार्वजनिक जग्गा भूमाफियाले कब्जा गरेपछि विवादित अवस्थामा हुँदाहुँदै मालपोत कार्यालयले समेत रोक्का गरेको जग्गा गाउँपालिका अध्यक्ष चौधरीले फुकुवा गर्न पत्राचार गरेको विरोधमा आन्दोलनमा उत्रिएको बजार व्यवस्थापन समितिका अध्यक्ष मिलन चौधरीले बताउनुभयो ।

उहाँले निर्णय फिर्ता नभएसम्म गाउँपालिका कार्यालयमा तालाबन्दी गरी कामकाज अवरुद्ध गर्ने जानकारी सञ्चारकर्मीलाई जानकारी दिनुभयो । अग्नीसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित रहेको साबिक सितापुर गाविस–७ (क)  कि.नं. ६५५ क्षेत्रफल १ बिघा २ कट्ठा १७ धुर धनुषा साबिक पौडेश्वर गाविस– ६ का ४१ वर्षीय शत्रुघनप्रसाद ठाकुरको नाममा दर्ता कायम रहेको छ ।

सो जग्गा विभिन्न जालझेल गरेर व्यक्तिको नाममा पास गरेको भन्दै वडा कार्यालयले विगत ७ वर्षदेखि मालपोत रसिद काट्न रोकेका थिए । विवादित जग्गाको रसिद जनप्रतिनिधि र कर्मचारीलाई प्रभावमा पारी ठाकुरले वडा –४ र ५ बाट मालपोत रसिद लिएको कुरा सार्वजनिक भएको थियो । 

२०४४ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले सो बजारको उद्घाटन गरेका थिए । सोही जग्गा भूमाफियाहरुले २०७२ सालमा कब्जा गरी धनीपुर्जा लिएको स्थानीय बजारवासीको भनाइ छ ।