• १२ साउन २०८१, शनिबार

अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत

blog

दमक महोत्सवलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, माघ २८ गते ।
 अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताउनुभएको छ । आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले लगाएको पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्रको बाटो बिस्तारै लयमा फर्किसकेको बताउनुभयो ।

अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘हिजो नेपाल श्रीलङ्का हुन्छ भन्ने हल्ला थियो । अहिले हामीसँग विदेशी पुँजीको सञ्चिति धेरै छ । हामीले वर्ष दिनभन्दा बढी विदेशी  सञ्चितिले धान्न सक्छौँ ।’’

बाहिरबाट प्रशस्त मात्रामा पुँजी नेपालको अर्थतन्त्रमा आएको मन्त्री महतले उल्लेख गर्नुभयो । यद्यपि आएको पुँजी चलायमान नभएको उहाँको भनाइ छ ।

मन्त्री महतले कोभिडको समयमा धेरै र सस्तो ऋण प्रवाह भएको जानकारी दिनुहुँदै त्यो उत्पादक क्षेत्रमा लगानी नभएकाले यसको असर देखिएको बताउनुभयो । त्यो समयमा शेयर बजार, जग्गा कारोबार अत्यधिक लगानी भएको तर प्रतिफल ननिस्केको उहाँ बताउनुहुन्छ ।

शेयर बजार र जग्गाको कारोबारमा धेरै शिथिलता आउनुले पनि अर्थतन्त्रमा असर पुगेको उहाँको भनाइ थियो । त्यसपछि राष्ट्र बैङ्कले ऋण प्रवाहमा कडाइ गर्न थालेपछि ब्याजदर बढ्दा फेरि थप जटिलता आएको र यस कारणले नेपालमा आर्थिक मन्दी आएको उहाँको दाबी छ ।

आर्थिक मन्दीको अवस्थामा सहकारी क्षेत्रमा पनि विकृति मौलाएको र यसको असर पनि देखिएको उहाँले बताउनुभयो । मन्त्री महतले अर्बौँको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्ने संयन्त्र प्रभावकारी नभएको फाइदा लिएर जनताको बचत रकम जथाभाबी रूपमा ऋण प्रवाह भएको पाइएको जानकारी दिनुभयो ।