लीलाराज खड्का
विर्तामोड माघ २८ गते। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ।
दिवङ्गत बुढाथोकीको सातौँ पुण्य तिथिको अवसर पारेर उहाँको गृहनगर झापा अर्जुनधारामा आइतबार आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै पार्टी सभापति देउवाले बुढाथोकीको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउँदै विकास निर्माण, सङ्गठन निर्माण विस्तार र लोकतान्त्रिक आन्दोलन र संविधान सभा सदस्यका रूपमा रहेर संविधान निर्माणमा खेलेको भूमिका स्मरणीय रहने बताउनुभयो। नेपाली कांग्रेस झापाको आयोजनामा बुढाथोकी निवासमा भएको श्रद्धाञ्जली सभामा पार्टी सभापति देउवाले परिवारलाई समवेदना पत्र हस्तान्तरण गर्नुभयो।
नेपाली कांग्रेस कोशी प्रदेश समिति, नेपाली कांग्रेस झापा जिल्ला समिति, विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थालगायत तीन दर्जन बढी समवेदना पत्र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, लगायतले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो।
श्रद्धाञ्जली सभामा अर्थमन्त्री प्रकाशशरण महत, पूर्व महामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पार्टीका सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य राजीव ढुङ्गाना, महेन्द्राकुमारी सुब्बा, सुशीला ढकाल आचार्य, गोमा भट्टराई, कोशी प्रदेशका अध्यक्ष उद्धव थापा लगायतको उपस्थिति रहेको थियो।
श्रद्धाञ्जली सभामा शोक समवेदना व्यक्त गर्न उपस्थित महानुभावले केशवकुमार बुढाथोकीको व्यक्तित्व, नेतृत्व र सांसद, मन्त्री एवम् पार्टी सङ्गठनको विभिन्न पदीय जिम्मेवारीमा रहँदा गर्नुभएको योगदानको चर्चा गर्दै उहाँको स्मरण गर्नुभएको थियो। पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको उपचारका क्रममा विराटनगरमा निधन भएको हो।