काठमाडौं, माघ २८ गते । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) सांसद उदयबहादुर बोहराले पश्चिम नेपालको भूकम्प पीडितहरूको राहत व्यवस्थापन कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद बोहराले भूकम्प पीडितहरू चिसोले कठ्याङ्ग्रिएर निमोनियालगायतका रोगहरूले समेत ग्रस्त भएकाले उनीहरूलाई आवश्यक राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले त्यहाँको राहत वितरण कार्य समानुपातिक रूपमा गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
पीडितले राहत वितरणमा भेदभाव भएको गुनासो गरिरहेकाले सरकारले आवश्यकताको आधारमा सबै ठाउँको आवश्यक राहतको व्यवस्था गर्नुपर्ने सांसद बोहराको भनाइ थियो ।
‘‘भूकम्पले पश्चिमका केही जिल्लाहरूमा ठुलो धनजनको क्षति भयो । त्यसका लागि दुःख व्यक्त गर्न चाहन्छु । र अहिले पनि भूकम्पबाट जो प्रताडित वृद्धवृद्धाहरु, गर्भवती महिलाहरू, ससाना बालबालिकाहरू, पढ्ने विद्यार्थीहरू अहिले पनि त्यहाँ राहत पुग्न सकेको छैन । यो हिउँदको कठ्याङ्ग्रिएको जाडोले, यो चिसोले गर्दा त्यहाँका अधिकांश मानिसहरू निमोनिया लगायतका रोगहरूसँग लडिराखेका छन् । ग्रस्त भइराखेका छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यो भएको हुनाले म सम्माननीय अध्यक्षज्यूमार्फत नेपाल सरकारको त्यतातिर ध्यान जाओस् । र जुन पुगेको राहत हो, त्यो राहत पनि समानुपातिक तौरतरिकाबाट वितरण भएन भन्ने गुनासो आइराखेको छ । त्यो राहत पनि समानुपातिक तरिकाले वितरण होस् । म यो सरकारलाई आह्वान गर्न चाहन्छु ।’’
सांसद बोहराले भूकम्पबाट जो प्रताडित वृद्धवृद्धाहरु, गर्भवती महिलाहरू, ससाना बालबालिकाहरूका लागि राहतको उचित व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।