• २३ पुस २०८१, मङ्गलबार

अध्यागमन हातपात घटनाका दोषीमाथि कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, माघ २८ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो घटना दुःखद् भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। 

उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानबिन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताउनुभयो। उहाँले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारबाही स्वचालित प्रक्रियाबाट सुरु गर्न लागिएको बताउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘सिँधै भन्न सकिने कुरा के हो भने व्यावसायिक आचरण भएन। मुख्य कुरा त त्यही हो। व्यावसायिक आचरण नहुँदा त्यो घटना हुन पुग्यो। हामी एक्सनको प्रक्रियामा भइसकेपछि त्यो घटना भयो। अब जे भयो, दुःखद् भयो। त्यस्तो घटना दोहोरिन दिनुहुँदैन। त्यसको निम्ति छानबिन गरेर दोषीलाई कारबाही गर्ने पहिलो कुरा भनेर हामीले निष्कर्ष निकालेका छौँ। एउटा पक्ष प्रहरीलाई मात्रै कारबाही भयो कि भन्ने कुरा पनि आयो। प्रतिवेदनको निष्कर्ष त्यस्तो छैन।’’

उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभाग भित्रको बेथिति हटाउनका लागि सरकारले कडा कदम चाल्ने थालेपछि त्यहाँभित्र हातहातको अवस्था आएको पनि छानबिन समितिको प्रतिवेदनको निष्कर्ष रहेको समितिलाई जानकारी गराउनुभयो।