भरतपुर, माघ २८ गते । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपालमा पछिल्लो समय बढ्दै गएका नकारात्मक भाष्यहरूले अप्ठ्यारो परिस्थिति आएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवन प्रचार विभागको आयोजनामा आइतबार भरतपुरमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै लोकप्रियताका लागि बोलिने नकारात्मक भाष्यको अब अन्तहुनुपर्ने धारणा राख्नुभयो ।
“नेपाली राजनीतिमा विरोध गरेपछि मिडियामा आइन्छ भनेर सस्तो लोकप्रियताका लागि बोल्ने प्रचलन छ । हरेक ठाउँबाट नकारात्मक कुरा गरे हुन्छ भन्ने जस्तो भयो”, उहाँको थप भनाइ थियो, “भ्रष्टाचारका ठुला फाइलहरू खोल्दै गयौँ त्यहाँ विरोध, सुन तस्करको जालोलाई तोड्दै थियौँ त्यही पनि विरोध हुन्छ, मानव तस्करको जालो तोड्दा पनि विरोध हुन्छ । हरेक ठाउँमा नकारात्मक कुरा मात्रै हुन्छ ।”
सरकारले चाहेजतिका काम गर्न भने नसकेको उहाँको भनाइ छ । उहाँले कांग्रेस गठबन्धन सरकारमा जाँदै गरेको अवस्थामा देखिएका चुनौतीपूर्ण, क्राइसिस र क्रोनिक अवस्था अहिले बिस्तारै कमी हुँदै गएको बताउनुभयो ।
नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री गुरुङले काँग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानले कांग्रेसका कमजोरी सुधारेर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले अब कांग्रेस जनताका माझमा जाँदा पुरानै ढङ्गले जानु गलत हुने धारणा पनि राख्नुभयो ।
“पुरानै ढङ्गले जाने छुट हामीलाई छैन । सरकारमा गए पछिको प्रगति देखाउनुपर्छ” उहाँले भन्नुभयो ।