• २० वैशाख २०८१, बिहिबार

वर्तमान सरकार गठनपछि धेरै सुधार भएको छ : मन्त्री गुरुङ

blog

फाइल तस्बिर ।

चितवन, माघ २८  गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार गठन हुँदाको समयको तुलनामा अहिले धेरै सुधार भएको बताउनुभएको छ । 

नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले धेरै सुधार भए पनि मुलुकमा अझै अप्ठ्यारो अवस्था भने कायमै रहेको उल्लेख गर्नुभयो । 

“वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण थियो । सबैतिर अब नेपाल पनि श्रीलङ्काकै पदचापमा जाने भयो भन्ने अवस्थामा थियो”, उहाँले भन्नुभयो, “हामीहरु मन्त्रीमण्डलमा समावेश भइसकेपछि त्यो अप्ठ्यारो परिस्थितिबाट विस्तारै ‘ट्र्याक’मा ल्याउँदैछाैं । पूरै राम्रो भइसकेको भने छैन ।” 

केही अप्ठ्यारो परिस्थितिका कारण जनताको चाहनाअनुसार काम हुन नसकेको भनाइ उहाँका भनाइ थियो । “हामीले चाहे जति गर्न सकिरहेका छैनाैं म स्वीकार गर्छु”, उहाँले भन्नुभयो 

उहाँले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र छ भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने बताउनुभयो । न्यायाधीशहरुले कमी कमजोरी गरे न्यायपरिषद्ले कारबाही गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “न्याय सम्पादनमा कमी कमजोरी देखियो र त्यसमाथि केही कुरा जोडिएर आयो भने सरकारले कसैलाई छाड्दैन ।”

सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरिरहेको बताउँदै उहाँले दोषी देखिएका सबैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने गर्दैन ।”

फरक प्रसङ्गमा बोल्दै नेपाली कांग्रेसका उपसभापति मन्त्री गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “लोकतन्त्र मान्ने मान्छे निराश हुने आत्तिने होइन । जनमत परिवर्तन भइरहन्छ ।” राजनीति निरन्तर बग्ने नदी भएकाले उतारचढाव आइरहने भन्दै उहाँले आत्तिन नहुने बताउनुभयो । रासस