• २२ मंसिर २०८१, शनिबार

मर्स्याङ्दी जलविद्युत केन्द्रको मुआब्जा वितरण कार्य ९० प्रतिशत पुरा

blog

मर्स्याङ्दी नदीको बाँध क्षेत्र । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ २८  गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य ९० प्रतिशत पूरा भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण भई काम अन्तिम चरणमा पुगेको हो  ।

 साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा तथा पाँच व्यक्तिका घर अधिग्रहणका लागि मुआब्जा निर्धारण गरे अनुसार वितरण कार्य भइरहेको केन्द्रले जनाएको छ । ९० प्रतिशतभन्दा बढीको मुआब्जा वितरण भइसकेको र बाँकी चाँडै नै पूरा गरिने केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो । घर छाड्न बाँकी रहेको परिवारको मात्रै भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार सो ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिनेछ । जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ रकम प्रदान गरिनेछ । जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ र घर टहराका लागि तीन करोड ९० लाख ९९ हजार तीन सय १५ वितरण गरिने प्रशासनले जनाएको छ । ६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गर्न लागिएको हो । मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले प्रभावितलाई मुआब्जा दिनुपर्छ भन्ने माग राख्दै आएको मुआब्जा वितरणको लागि रकम निकासी भएपछि खुसी लागेको बताउनुभयो ।