• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ २८ गते । प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको छ । पञ्चपुरी नगरपालिका–२ स्थित उक्त स्वास्थ्य केन्द्रमा शय्या थपेर स्तरोन्नति गर्न लागिएको हो ।

सङ्घीय सरकारको लगानीमा १५ शय्याको अस्पताललाई प्रदेश सरकारको लगानीमा ५० शय्याको अस्पताल निर्माणको प्रक्रिया थालिएको हो । ५० शय्या थप्नेसँगै स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणको प्रगति ८५ प्रतिशत भएको नगरपालिकाका इन्जिनियर नरेन्द्र भण्डारीले बताउनुभयो । ७२ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।  नेपाल सरकारले २०७७ मङ्सिर १५ गते देशभर रहेका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । कुल १८ करोड लागतमा भवन तयार हुन लागेको छ । 

हालसम्म १३ करोड ६० लाख बजेट कार्यान्वयन भएको पालिकाले जनाएको छ । २०७८ असार २२ गते स्वार/ एसोसिएट्स/रञ्जितकार जेभी धनगढीसँग नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो ।

भवन निर्माण थालिएको साढे दुई वर्षमा ८५ प्रतिशत काम सकिएको छ । २०८१ असार २३ सम्म काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । भवनमा लिफ्ट सिस्टमसँगै अत्याधुनिक हुने बताइएको छ ।

आउँदो जेठसम्म नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी थालिएको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार नयाँ दरबन्दी सिर्जना गरेर आधारभूत अस्पतालबाट सेवा दिने गरी तयारी थालिएको छ ।

अस्पताल निर्माण भए पश्चिमका तीन पालिका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका नागरिकले समेत स्वास्थ्य उपचार सेवा लिन सक्ने छन् । पञ्चपुरी नगर प्रमुख लालवीर भण्डारीले दरबन्दी सिर्जना गरेर आउँदो जेठसम्म नयाँ भवनबाट सेवा दिने गरी काम थालिएको बताउनुभयो । 

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्य अनुसार अस्पताल निर्माण प्रक्रिया अघि बढेको उहाँको भनाइ छ । गत आर्थिक वर्षबाट अस्पताल निर्माणको काम थालिएको थियो । प्रदेश सरकारले तीन करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । 

अस्पताल निर्माण योजना बहुवर्षीयमा नगएको र स्रोत सुनिश्चित नहुँदा बजेट कार्यान्वयन हुन सकेको थिएन । यो वर्ष पनि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।