चौरजहारी समाचारदाता
रुकुमपश्चिम, माघ २८ गते । रुकुमपश्चिमका भूकम्प प्रभावितको खातामा अस्थायी आवास निर्माणका लागि हालसम्म ७२ करोड ८३ लाख २५ हजार रुपियाँ जम्मा गरिएको छ । २९ हजार १३३ जना लाभग्राहीको खातामा पहिलो किस्ताबापतको अनुदान रकम जम्मा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म जिल्लामा ३१ हजार ६२० जना लाभग्राहीको पहिचान भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले लाभग्राही कायम भएका सबैको लागि सम्बन्धित स्थानीय तहको विपत् व्यवस्थापन कोषमा जिल्ला विपत् व्यवस्थापन समितिबाट रकम निकासा पठाइसकिएको बताउनुभयो ।
स्थानीय तहहरूले भने २९ हजार १३३ लाभग्राहीको खातामा जनही २५ हजार रुपियाँका दरले ७२ करोड ८३ लाख २५ हजार रुपियाँ जम्मा गरेका हुन् । जिल्ला विपत् कोषबाट भने ७९ करोड पाँच लाख रुपियाँ निकासा भइसकेको छ । अस्थायी आवासका लागि निकासा गरिएको छ करोड २१ लाख ७५ हजार रुपियाँ स्थानीय तहको कोषमै रहेको छ । जिल्ला विपत् व्यवस्थापन कोषबाट स्थानीय विपत् व्यवस्थापन कोषमा रकम निकासा भएको मध्ये दुई हजार ४८७ जना लाभग्राहीको खाता तथा अन्य प्राविधिक समस्याले गर्दा पहिलो किस्ताको रकम पाउन सकिरहेका छैनन् ।
सरकारले दिएको उक्त अनुदान रकमबाट जिल्लाका छ वटा स्थानीय तहमा २४ हजार ७२६ वटा अस्थायी टहरा निर्माण भएका छन् । बढुवालले पाँच हजार ४९३ अस्थायी टहरा निर्माणकै चरणमा रहेको बताउनुभयो ।
उहाँका अनुसार आठबिसकोट नगरपालिकामा आठ हजार ११ वटा, चौरजहारी नगरपालिकामा पाँच हजार ३६२ वटा र मुसीकोट नगरपालिकामा ६३७ वटा अस्थायी आवास बनेका छन् । त्यसै गरी सानीभेरी गाउँपालिकामा पाँच हजार ५२७ वटा त्रिवेणी गाउँपालिकामा दुई हजार ९६० वटा र बाँफीकोट गाउँपालिकामा दुई हजार २२९ वटा अस्थायी आवास बनेका छन् ।
पहिलो किस्ता पाएकाहरूलाई दोस्रो किस्ता वितरणका लागि स्थानीय तहहरूले जिल्ला विपत् कोषमा हालसम्म रकम माग नगरेको प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहले दोस्रो किस्ता माग गरेमा आवश्यक प्रक्रियामा जाने प्रशासन कार्यालयले जनाएको छ ।