निशा राई
धरान, माघ २७ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हामी जे बोल्छाैं त्यो पूरा गरौं र पूरा गर्ने मात्र बोल्नु पर्ने बताउनु भएको छ ।
‘लोकतान्त्रिक संस्कार र पद्धतीका लागि प्रजातान्त्रिक विचार समाज’ भन्ने नाराको साथमा प्रजातान्त्रिक विचार समाज कोशी प्रदेशको दोस्रो प्रदेश अधिवेशन तथा संघीय लोकतान्त्रिक गणतन्त्रका चुनौती नेपाली कांग्रेसको भूमिको विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
शनिबार आयोजित कार्यक्रममा उहाँले यो देश हात्ती, बाँदरलगायत सबै जनावरहरुको पनि रहेकाले उनीहरुको व्यवस्थापनका लागि बजेट छुट्याई आफू पनि स्थलगतरुपमा अनुगमन गरी काम गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
विकासको मोडेल परिवर्तन गर्नुपर्छ, विकास भन्ने बित्तिकै घर, मन्दिरलगायत अन्य संस्था बनाएर होइन अभावमा भएकोलाई त्यसको परिपूर्ति गर्नु विकास रहेको उहाँले बताउनुभयो ।
कोशी प्रदेशले यही सालबाट डाक्टर, ईन्जिनियरलगायत अन्य पढाइ पढ्न पैसाको अभाव हुनेलाई छात्रावृत्ति दिएर, साथै विकट गाउँको बस्तीमा शिक्षा, स्वास्थ्यको तलब भत्ताको सुविधा दिएर विकासको नयाँ शुरूवात गर्ने मुख्यमन्त्री बताउनुभयो । प्रजातान्त्रिक विचार समाजलाई थिंकट्यांकको काम गरेर सरकारको फरक काम गर्ने अभियानमा हातेमालो गर्न उहाँले आह्वान गर्नुभयो ।
लोकतान्त्रिक समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले संघीयता नराम्रो होइन यसलाई स्थापित गर्न समय लागेको हो, संघीयताले संसारको धेरै देश विकास भएको बताउनुभयो । उहाँले बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक कुराहरुलाई संघीयताले समेटेको बताउनुभयो ।
यसैगरी, लोकतान्त्रिक समाजका निवर्तमान अध्यक्ष प्रा.डा. केदारनरसिंह केसीले देश बिग्रेको छैन तर पात्र चाहिँ बिग्रेको बताउनुभयो ।
समाजका उपाध्यक्ष गोकर्ण अर्याल, पूर्व प्रदेश प्रमुख गोविन्द बहादुर तुम्वाहाङ्ग, नेपाली काङ्ग्रेस कोशी प्रदेशको महामन्त्री उमेश थापा, धरान उपमहानगरपालिकाको निवर्तममान नगर प्रमुख तिलक राईलगायत कोशि प्रदेशका १४ जिल्लाका लोकतान्त्रिक समाजका सबै प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।