• १५ मंसिर २०८१, शनिबार

‘दलको कमजोरीका कारण राजावादी मौलाए’

blog

नेकपा (एस) का सम्मानित नेता झलनाथ खनाल कार्यक्रममा ।

रमेश पौडेल

पोखरा, माघ २७ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तामा बसेका पार्टीहरूले राम्रोसँग काम गर्न नसक्दा राजावादीहरू मौलाइरहेको बताउनुभएको छ । 

पोखरामा शनिबार समाजवादी प्रेस सङ्गठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सो कुरा बताउनुभएको हो । नेपालको परिवर्तनमा जनताले सधैँ साथ दिएता पनि जनताको आकाङ्क्षाअनुरूप काम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा पैदा भएको बताउनुभयो ।

उहाँले देशमा अहिलेको आवश्यकताले राजनीतिक कोर्ष नै परिवर्तन गर्नुपर्ने बेला आएको बताउनुभयो । वर्तमान प्रचण्ड सरकारले जनताको भावनाअनुरुप काम गर्न नसकेको उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अबको विकल्प भनेको समाजवाद हो, यो सरकारले समाजवादी नीति र सिद्धान्तमा रहेर काम गर्न सकेको छैन । सरकार पुँजीवादतर्फ अग्रसर रहेको छ ।” 

नेता खनालले मुलुकमा भूमिसुधार लागूगरी कृषिमा क्रान्ति र औद्योगीकरणको वातावरण बनेमा मात्र रोजगारीको अवसर सिर्जना हुने र विदेश जाने युवालाई रोक्न सकिने बताउनुभयो ।

उहाँले आफ्नो छोटो प्रधानमन्त्री कार्यकालमा सुरुङमार्ग र लोडसेडिङ मुक्त बनाउन काम गरेको दाबी गर्नुहुँदै आफूले फेरि मौका पाउने हो भने धेरै काम गरेर देखाउने दाबी गर्नुभयो । 

गठबन्धन बारेमा बोल्दै नेता खनालले गठबन्धन समयको उपज र बाध्यता भएको बताउनु हुँदै गलत राजनीतिक कार्यदिशाका कारण नेकपा फुटेको चर्चा गर्नुभयो ।