• १४ मंसिर २०८१, शुक्रबार

कृषि तथा पर्यटन प्रवर्द्धनका लागि महोत्सव हुँदै

blog

बिन्दु थापा 

तानसेन, माघ २७ गते । पाल्पाको तानसेन नगरपालिकाले कृषि तथा पर्यटन प्रवर्द्धनका लागि फागुन १८ गतेदेखि २८ गतेसम्म कृषि तथा पर्यटन महोत्सव २०८० आयोजना गर्ने भएको छ । 

जिल्लामा उत्पादित कृषिउपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्धन, तानसेनको पर्यटन तथा धार्मिक कला संस्कृति, मौलिकताका साथै स्थानीय रहनसहन र पर्यटनमैत्री जिल्ला हो । सो सन्देशलाई पर्यटकसामु परिचित गराउन महोत्सव आयोजना गर्न लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । 

प्रमुख श्रेष्ठले महोत्सव आयोजनाको तयारी भइरहेको र महोत्सव भव्य हुने बताउनुभयो । महोत्सव सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन गर्ने काम भइरहेको जानकारी दिनुभयो । नगरपालिकाले आफूले छुट्टै आम्दानी गर्नेभन्दा पनि जिल्लाभित्रका व्यवसायीले लाभ लिन सक्ने भएकाले समग्र तानसेनवासीले लाभ लिने अनुमान गरिएको प्रमुख श्रेष्ठको भनाइ छ । 

महोत्सवको उद्घाटन फागुन १८ गते गर्ने कार्यक्रम तय भएको श्रेष्ठले बताउनुभयो । नगरपालिकाका अनुसार कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । 

महोत्सवको अवसर पारेर जोर्डनका राजकुमार तथा २० जना नोबेल पुरस्कारबाट पुरस्कृत भएका अतिथिहरूको समेत सहभागिता रहने बताइएको छ ।