• १४ मंसिर २०८१, शुक्रबार

नेपाल र स्विट्जरल्याण्डबिच हवाई सम्झौता

blog

काठमाडौँ, माघ २७ गते । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबिच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबिच हवाई सेवा सम्झौता भएको हो ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले दुवै मुलुकबिच सातामा २८ उडान हुनेगरी हवाई सेवा सम्झौता भएको बताउनुभयो । उहाँका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नुपर्नेछ ।

द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ । “अहिलेलाई दुई-दुई वटा एयरलाइन्स तोकिएका छन्, आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ । तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ”, सहसचिव लामिछानेले भन्नुभयो ।

नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवान्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । अन्य केही मुलुकसँग यस्ता द्विपक्षीय हवाई सेवा सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

इन्डोनेसियासँग हवाई सम्झौताको तयारी   

सरकारले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । उक्त मुलुकसँग पनि हवाई सम्झौताका लागि समन्वय भइरहेको मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी रुसलगायत मुलुकसँग पनि हवाई सेवा सम्झौताका लागि छलफल भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । रासस