• १८ वैशाख २०८१, मङ्गलबार

करोडौँ रकम हिनामिना गरी बैङ्कका कर्मचारी फरार

blog

आठविसकोट नगरपालिका –९ राडिमा रहेको प्रभु बैंकको शाखा कार्यालय । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, माघ २७ गते । रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडी बजारमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले ग्राहकको रकम हिनामिना गरी फरार भएका छन् ।  

बैङ्कको अप्रेसन इन्चार्ज पदमा कार्यरत नीराजन शाहले बचतकर्ताको करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन समेत सुरु गरेको छ । झुठ्ठा विवरण र खातावालाको जानकारीबिनै बैङ्कमा जम्मा गरेको रकम खातामा नभएपछि सो रहस्य खुलेको हो । 

अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैङ्कको कर्णाली प्रदेशबाट एक टोली आइपुगेको छ । टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने उक्त शाखामा कार्यरत सबै कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरुभएको बैङ्क व्यवस्थापनले जनाएको छ ।

सो शाखामा कार्यरत नौ जना कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर पाँच जना नयाँ कर्मचारीको टोली खटाएको शाखा प्रबन्धक डम्बर गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार अप्रेसन इन्चार्ज शाहले तोकिएको जिम्मेवारीको दुरुपयोग गरेर एक करोड बढी रकम हिनामिना गरेको हुनसक्ने देखिएको उल्लेख गर्नुभयो । 

कति बचतकर्ताको कति रकम दुरुपयोग भयो भन्ने विषय सम्पूर्ण छानबिनपछि मात्र खुल्ने उहाँको भनाइ छ । प्रबन्धक गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आइडीबाट विभिन्न व्यक्तिको खाताको रकम ट्रान्सफर गरेको र यसअघि विभिन्न व्यक्तिहरूको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको देखिन्छ । 

विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनी पैसा दिएका नजिकका आफन्तहरू पनि अहिले बैङ्कको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्नेगरेका छन् । 

पीडितहरूले दिएको जानकारीअनुसार शाहले आठविसकोट नगरपालिका १३ का शङ्कर पुनको खाताबाट १० लाख, वडा नम्बर ११ का नरेन्द्र बस्नेतको खाताबाट आठ लाख रुपियाँ अन्यत्रै ट्रान्सफर गरेको पाइएको छ । यसका साथै वडा १० का एक जनप्रतिनिधिले आफ्नो छोरीले जम्मा गरिदिनु भनेर दिएको नौ लाख रुपियाँ इन्चार्ज शाहले जम्मा नगरेर हिनामिना गरेको भेटिएको छ । 

शाखा प्रबन्धक गौतमले यी बाहेक अन्य धेरै बचतकर्ता र सरकारी निकायको रकम समेत दुरुपयोग गरी करोडौँ हिनामिना गरेको बताउनुभएको छ । बढी मात्रामा स्थानीय तहको नाममा आएको रकम दुरुपयोग भएको बैङ्कको भनाइ छ । 

रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैङ्कको सम्पर्कमा नरहेको बताइन्छ । शाहले उपचारका लागि भन्दै एक हप्ता पहिला बिदाका लागि निवेदन दिएको तर स्वीकृत नभएको शाखा प्रबन्धक गौतमले जानकारी दिनुभयो । यस प्रकरणको छानबिन गरेर आवश्यक कारबाहीको प्रक्रियामा जाने बैङ्कको भनाइ छ ।