• १२ असोज २०८१, शनिबार

सङ्घीय शिक्षा ऐन छिट्टै आउँछ : मन्त्री राई

blog

त्रिनपा ४ वगाहास्थित फर्सेट क्षेत्रमा प्रस्तावित त्रियुगा मेडिकल कलेज निर्माण स्थलको जग्गा निरीक्षण गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल
गाईघाट, माघ २७ गते ।
 शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले मुलुकका विभिन्न सात स्थानमा सरकारी लगानीमा मेडिकल कलेज स्थापना गर्न मन्त्रालयले द्रुत गतिमा काम गरिरहेको बताउनुभएको छ । सो कुरा मन्त्री राईले शनिबार उदयपुरको गाईघाटस्थित मेडिकल कलेज निर्माणका लागि प्रस्ताव गरिएको जग्गाको निरीक्षणपछि त्रियुगा नगरपालिकाको सभा कक्षमा आयोजित एक कार्यक्रममा बताउनुभएको हो ।

स्वास्थ्य शिक्षालाई सहज सुलभ र विकेन्द्रित गने उद्देश्य अनुरूप इलाम, उदयपुर, बर्दिबास, बुटवल सुर्खेत, कैलाली र डडेलधुरामा मेडिकल कलेज स्थापना गर्ने निश्चित भएको उहाँले बताउनुभयो । त्यसमध्ये कैलालीमा भने सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनिसकेको र आगामी शैक्षिक वर्षबाट विद्यार्थी भर्ना अभियान सुरु हुने बताउनुभयो ।

अन्य सबै जिल्लामा जग्गा प्राप्ति भएर मेडिकल कलेज स्थापना गर्ने तयारी भएको तर उदयपुरमा भने यसको काम ढिलाइ भएकाले यहाँको जग्गा प्राप्ति लगायतका कामहरू के कस्तो अवस्थामा छ भन्ने जानकारी तथा मेडिकल कलेज स्थापनाका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत निरीक्षणका लागि आफू यहाँ आएको बताउनुभयो ।

मेडिकल कलेज निर्माणका लागि प्रस्ताव गरिएको त्रिनपा ४ वगाहाको फर्सेठ क्षेत्रमा रहेको करिब एकसय बिगाहा जग्गा प्राप्त गर्ने प्रक्रियामा लाग्न र तत्काल यो कामलाई अगाडि बढाउन त्रियुगा नगरपालिकालाई उहाँले अनुरोध पनि गर्नुभएको छ ।

उहाँले ‘वर्तमान सरकारले सङ्घीय शिक्षा ऐन संसद्को अव हुने अधिवेशनबाट पारित हुने बताउनुभएको छ । तर संसद्को छलफलमा रहेको उक्त ऐन २०७५ सालमा ड्राफ्ट भएको तर २०७९ सालसम्म संसदमा नलगिएको रहेछ र आफूले यो मन्त्रालय सम्हालेपछि दर्ता गरी संसदमा छलफल भएको र त्यसमा ९३ जना माननीयहरूले प्रश्न गर्नुभएको थियो’ भन्नुभयो ।

अहिले पनि सङ्घीय शिक्षा ऐन ठुलो भुमरीमा फसिरहेकाले यसलाई कसरी त्यो भुमरीबाट बाहिर निकाल्ने भन्ने विष निकै जटिल भएको भन्नुहुँदै मन्त्री राईले १५२ जना सांसदले एक हजार सात सय ५८ वटा संशोधन प्रस्ताव गर्नुभएकाले यो जटिल विषय भएको बताउनुभयो ।

योसँगै प्रहरी ऐन, निजामती ऐन, प्राविधिक शिक्षा, उच्च शिक्षा ऐनलगायत धेरैवटा ऐनहरू पारित गरेर कानुन निर्माण गरेपछि मात्रै यो सङ्घीयता बलियो हुने उहाँले बताउनुभयो । नगर प्रमुख वसन्त कुमार बस्नेतले त्रियुगा नगरपालिकाले मेडिकल कलेज निर्माणका लागि जग्गा प्राप्ति गर्न कतिपनि ढिलासुस्ती नगरी काम अगाडि बढाइसकेको जानकारी दिनुभयो ।