मकवानपुर समाचारदाता
हेटौँडा, माघ २७ गते । तामाङ समुदायको पर्व सोनाम ल्होसार पर्व तामाङ समुदायले शुक्रबारबाट विविध कार्यक्रमको आयोजना गरी मनाइरहेका छन् । तामाङ समुदायले सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना आदानप्रदानसँगै विशेष सांस्कृतिक कार्यक्रम मकवानपुरको १० वटै पालिकामा आयोजना गरिएको छ ।
माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होसार पर्व मनाउन मकवानपुरमा राक्सिराङ गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मञ्जुश्री संवत् २८६० डुक/मु पुख्री (गरुड वर्ष) सोनाम ल्होसारका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको बताउनुभयो । अध्यक्ष मल्लले तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैङ्क तथा वित्तीय संस्था बन्द रहने जानकारी दिनुभयो ।
यस्तै गाउँपालिकामा शुक्रबारदेखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद कार्कीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत कार्कीले सोनाम ल्होसारका अवसरमा दिइएको सार्वजनिक बिदाको अवधिमा गाउँपालिका मातहतका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्था बन्द रहने बताउनुभयो । दुवै पालिकाले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।