सुर्खेत समाचारदाता
सुर्खेत, माघ २७ गते । सडकबाट बेवारिस अवस्थामा एक महिनाअघि उठाएर ल्याइएका दैलेख जिल्ला चामुण्डा विन्द्रासैनी नगरपालिका–५ का भीमबहादुर रावतलाई परिवारसँग पुनर्मिलन गराइएको छ ।
रावतलाई पुस २१ गते सुर्खेतस्थित मानव सेवा आश्रममा ल्याइएको थियो । आश्रममा उपचार र मनोपरामर्शपछि रावतलाई बिहीबार परिवारसँग पुनर्मिलन गराइएको हो ।
विसं २०७५ मा सुर्खेतमा स्थापित मानव सेवा आश्रमले सडकमा बेवारिस भेटिएका करिब डेढ सय जनालाई मनोपरामर्शपछि पारिवारिक पुनर्मिलन गराइसकेको छ । आश्रमका सहसंयोजक सञ्जिता गौतमका अनुसार आश्रम स्थापनायता डेढ सयभन्दा बढीको पारिवारिक पुनर्मिलन गराइएको छ । मानसिक समस्याका कारण सडकमा भौँतारिएका, कोही माग्न बसेको अवस्थामा फेला पारिएकालाई परिवारसँग पुनर्मिलन गराइने गरिएको छ ।
आश्रममा ८६ जना आश्रित छन् । उनीहरूको सबै उपचार तथा खाना निःशुल्क गर्ने गरिएको छ । आश्रम स्थापना भएको संरचनाको भाडा वीरेन्द्रनगर नगरपालिकाले तिरिदिने गरेको छ । अरू खर्च सहयोगी दाताको सहयोगबाट सञ्चालन भएको जनाइएको छ । व्यक्तिको विवाह, व्रतबन्धका साथै विभिन्न सङ्घसंस्थाको स्थापना दिवस, जन्मदिनका अवसरमा दिइने सहयोग र मुठीदानबाट आश्रम सञ्चालन गरिएको छ । आश्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लामा मानसिक समस्यामा रहेका र बेसहारा भएकालाई आश्रय दिने गरिएको छ ।
आमा सेमिनार
सुर्खेतस्थित मानव सेवा आश्रमले शनिबार आमा सेमिनार गर्न लागेको छ । आमाबुवाको महत्व र महिमा बोध गराउँदै राष्ट्र, राष्ट्रियता र मातृभूमिप्रतिको सम्मान बढाउने उद्देश्यले आमा सेमिनार आयोजना गर्न लागिएको बताइन्छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले मानवीय सेवालाई प्रेरित गर्ने, व्यक्तिमा सिर्जनशीलता, रचनात्मकता, सामाजिक मूल्यमान्यतासहित सकारात्मक सोचको विकासका लागि सेमिनार गर्न लागिएको बताउनुभयो ।