• ११ मंसिर २०८१, मङ्गलबार

हरेक गाउँ पर्यटकीय स्थल

blog

सहर धुवाँ, धुलो र दुर्गन्धले आक्रान्त छ । त्यसमाथि पनि हाम्रो काठमाडौँ उपत्यका त विश्वकै प्रदूषित सहरमध्येमा पर्दो रहेछ ! भनिन्छ– उपत्यकामा बसोबास गर्नेले दिनको दुई बट्टा चुरोट खाएजत्तिकै धुवाँ खान्छन् । एउटा चुरोटले मानिसको आयु ११ मिनेट घटाउँछ रे ! कारखानाबाट उत्पादित पत्रु खानाको त कुरै छोडौँ, यहाँ दैनिक किनेर खाइने ताजा तरकारी पनि विषमय छ । एकातिर दैनिक दुई बट्टा चुरोटको धूमपान ! अर्कातिर विषमय खानपान ! यो हिसाबले त यहाँ बस्नेको आयु कति नै हुने भयो र ! यस्तो सहरको तुलनामा गाउँ सम्झँदैमा पनि आनन्द लाग्छ । 

गाउँ आध्यात्मिक आनन्द प्राप्तिका लागि अत्युत्तम स्थल हो । त्यहाँको स्वच्छ वातावरणमा शरीरै चङ्गा हुन्छ । प्राचीन ऋषिमुनिहरू हिमाल, पहाड, जङ्गल र त्यतातिरका गुफामा ध्यानस्थ भई आनन्द लिन्थे । जीवनज्ञान प्राप्त गर्थे । सिद्धार्थ गौतमले पिपलको रुखमुनि बसेर ध्यान गर्दा ज्ञान प्राप्त गरेको सर्वविदितै छ । 

गाउँ हाम्रो अस्तित्वको उद्गमस्थल र जीवनदाता पनि हो । खाँदा औषधीको काम गर्ने अर्गानिक अन्नबाली तथा फलफूल गाउँमै उब्जाइन्छन् । श्रम र सहयोगी भावना त्यतै सिकिन्छ । सुन्दरता र मानवहितसहितको प्राकृतिक अस्पताल लाग्ने स्वस्थकर हावापानी त्यतै अनुभव गर्न सकिन्छ । अमृतमय स्वच्छ खानेपानीका मुहान त्यतै छन् । अनेकौँ प्रकारका सञ्जीवनी औषधी बनाउन सकिने जडीबुटीका भण्डार पनि त्यतै छन् । सर्वेक्षण, खोज, पहिचान गरेर खन्न बाँकी रहेका खनिज पदार्थका खानी त्यतै छन् । जीवन्त अनुभव र अनेकौँ अमूल्य ज्ञान दिने परिवेश गाउँमै पाइन्छ । झर्रा नेपाली शब्दसहित मौलिक नेपाली भाषाको प्रयोग पनि गाउँमै हुन्छ । त्यसैले, गाउँ हामी सबैको मौलिक पहिचान र मानवीय सान हो ।

यति भएर पनि समय अनुसार मान्छेका इच्छा र चाहना बदलिएका कारण गाउँ आजकल कसैको पनि रोजाइमा पर्न सकेको छैन । आजकल हामी भौतिकवादी बन्दै छौँ । चाहे विषै खाएर होस्, उकुसमुकुसमै निस्सासिएर होस्–प्राकृतिक आनन्द दिने गाउँमा होइन, कृत्रिम आनन्दसहितको भौतिक सुविधा उपभोग गर्न पाइने सहरमै बस्न रुचाउँदै छौँ हामी । समयको यो चाहनालाई कसैले रोक्न सक्ने कुरो पनि भएन ।

प्रसङ्गगवश यहाँ कहिलेकाहीँ, सन्तुलित विकासको पनि कुरा गरिन्छ । यसको अर्थ, विकास सहरमा मात्रै होइन, गाउँमा पनि हुनु पर्छ भन्ने नै हो । गाउँलाई पनि बिस्तारै सहरमा परिणत गर्दै लाने कुरा हो तर हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा यो कुरा सम्भव छैन । पछिल्लो समयमा धेरै गाउँमा कच्ची भए पनि सडक पुगेको छ । बिजुली पुगेको छ तर त्यतिले पनि मानिसलाई गाउँमा टिकाउन सकिको छैन । आजको बेरोजगार युवा रोजगारी चाहन्छ । सँगै पढेका साथी केही वर्ष विदेशमा कमाइ गरेर स्वदेशमा आएपछि कार चढेर हिँडेको देख्दा कुन युवाको मन पोल्दैन ? आजका युवालाई थाहा छ कि, त्यो साथीको जस्तो जिन्दगी यो देशको गाउँमा होइन, सहरमा बसेर पनि भोग्न सकिँदैन । राज्यको ढुकुटीबाट पालिएका पोसिएका प्रत्येक नेताका छोराछोरी पनि त विदेशै छन् ! त्यसैले पनि हाम्रा युवाको पाइला, मातृभूमिको मायाले यहीँ रोकिनेवाला छैन । 

गाउँमा मानिस बस्न/टिक्न नसक्नु त्यहाँको असुविधा पनि हो । यो कुरा, भोग्नेलाई मात्र थाहा छ । कतिपय गाउँमा एक गाग्री खानेपानी लिनमा लागि घण्टौँ बिताउनु पर्छ । एक कल फोन गर्नका लागि डाँडातिर उक्लनु पर्छ । यातायातको सुविधा नभएको हुँदा हिँडेरै काम चलाउनु पर्छ । कतिपय सुत्केरी महिला अस्पताल पुग्नै नपाई मर्छन् । त्यहाँ परम्परागत कृषिको विकल्प छैन । सिँचाइको सुविधा पनि छैन । आवश्यक जनशक्तिको अभाव त्यत्तिकै छ । कति दुःख गरेर लगाइएको खेती पनि जङ्गली जनावरले सिध्याइदिन्छ । कसै गरेर फलाइएका र जोगाइएका कृषि पैदावर तथा फलफूलले उचित मूल्य पाउँदैनन् । त्यस्तोे ठाउँमा बस्न बाध्य हुनु भनेको त एक प्रकारको सजाय नै काट्नु हो । 

जीवन चलाउने सन्दर्भमा, गाउँको भन्दा सहरमा सुविधाजनक छ । भान्साको धारामै पानी आउँछ । यताउता गर्नलाई यातायातको सुविधा छ । कडा रोग लाग्दा उपचारका लागि अस्पताल छ । मकै पोलेर होस् वा चट्पटे/बदाम बेचेर, पानी बेचेर होस् या पानीपुरी बेचेर–जीवन निर्वाहका अनेक उपाय सहरमै पाइन्छन् । भान्सामा दाउराको धुवाँ नहुने हुँदा भाँडा काला हुँदैनन् । लुगाकपडा वासिङ मेसिनमा हालिदिएपछि सफा हुन्छ । त्यति मात्र होइन, विदेशमा भएका अनेक विकास, प्रगति र सुविधाका बारेमा पनि आजको पुस्ता जानकार छ । 

मानिस स्वभावैले असन्तोषी, सुविधामुखी र आरिसे प्राणी हो । आफूले उपभोग गर्न नपाएका सुविधा अरूले उपभोग गरेको देखेपछि ऊ पनि त्यसका लागि प्रयास गर्छ । सोही प्रयासका क्रममा गाउँबाट सहर र सहरबाट पनि विदेश जानुपर्ने अवस्था आएको हो । पशुले त सफा ठाउँ, सहज बसाइ र मिठो खानेकुरा खोज्छ भने मानिस जस्तो चेतनशील प्राणीले कठिनाइको विकल्प खोज्नु स्वाभाविकै हो । समस्याको समाधान रोज्नु उसको सक्रियता हो र असुविधाबाट सुविधामुखी हुन चाहनु उसमा भएको प्रगतिशील क्रियाकलाप नै हो । 

गाउँलाई आकर्षक बनाउनका लागि, ‘एक गाउँ एक उत्पादन,’ ‘कृषिमा अनुदान’ अनेकथरी कार्यक्रम नल्याइएका होइनन् । देशभक्तिको पाठ पनि नपढाइएको होइन तर जति गरे पनि युवाको मन कृषि र यो देशको माटोमा आकर्षित नै भएन । भनिन्छ ः आजका किसान नै अन्तिम किसान हुन् ! नभन्दै, आजकल गाउँमा बस्नेहरू पनि खेती गरेर होइन, किनेर खान मन पराउँछन् । कच्ची भए पनि सडक बनेको हुँदा किनी खाने सुविधा पुगेको छ गाउँमा । यसरी हाम्रा गाउँको अवस्था ज्यादै दयनीय बनेको छ । कतिपय गाउँमा मान्छे मर्दा मलामी जाने मानिस पाइँदैनन् । उब्जाउशील खेतबारी बाझिँदै जाँदा पहिलाका मानव बस्ती जङ्गल हुँदै छन् । कतिपय व्यक्तिका प्राचीन महत्वका घर भग्नावशेषमा परिणत भएका छन् । पछिल्लो समयमा बनाइएका ‘भूकम्पे घर’ र विद्यालय भवन उपयोगविहीन हुँदै छन् । यस्तो देख्दा के लाग्छ भने अब गाउँमा मान्छे फर्काउन त कुरै छोडौँ, त्यहाँ बाँकी रहेकालाई पनि टिकाउन सकिने अवस्था छैन ।

त्यसैले बसोबास स्थल बन्न नसकेका हाम्रा अधिकांश गाउँलाई अब पर्यटकीय स्थलका रूपमा विकास गर्न राष्ट्रिय स्तरको गुरुयोजना नै बनाउनु पर्छ । हाम्रा गाउँठाउँको प्रचारप्रसार गर्नु पर्छ । प्रत्येक गाउँसम्म पुग्ने एउटा राम्रो मोटरबाटो बनाउनु पर्छ । छोडिएका घरलाई ‘पाहुना घर’ का रूपमा संरक्षण गर्नु पर्छ । गाउँको प्राकृतिक सुन्दरता बिग्रन नदिएर त्यसलाई थप सुन्दर बनाउने काम गर्नु पर्छ । यसो गरिएमा हाम्रा प्रत्येक गाउँ मनोरञ्जक पर्यटकीय स्थल बन्न सक्छन् । यसले हाम्रो राष्ट्रियता र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने छ । 

Author

इन्द्रकुमार श्रेष्ठ