• ११ मंसिर २०८१, मङ्गलबार

समाजमा एकल महिला

blog

गम्भीर भएर चिन्तन गर्दै जाने हो भने हामीले पुरुष र महिलाको संयुक्त, सामूहिक र परिवारिक रूपमा रहेका अत्यन्त रमाइला चित्र पाउन सक्छौँ । साँच्चै यो विश्व मानव समुदायको एउटा विशाल समाज हो । यो विशाल समाजभित्र पुरुष र महिलाको उच्च योगदान र त्यागका ज्वलन्त नमुना पाउन सक्छौँ । फलस्वरूप मानव समाजलाई अत्याधुनिक प्रविधिको युगसम्म पुर्‍याउन सफल पनि भएको छ । यो सफलतामा कसको मन पुलकित नहोला र !

बाँदर युगदेखिको विकास क्रमलाई अध्ययन गर्ने हो भने पुरुष र महिलाको अस्तित्वलाई सजिलैसँग बुझ्न सक्छौँ । सृष्टिको संरचनामा पुरुष र महिलाको अतुलनीय सहभागिताको प्रसङ्गलाई आत्मसात् गर्नु पर्छ । इतिहासदेखि नै श्रम र ताकतको मापन गर्न थालियो । प्राकृतिक रूपमै महिला शारीरिक रूपमा कमजोर भएपछि मानव समाजभित्र एक किसिमको हलचल मच्चियो । त्यति मात्रै होइन, महिलाले सन्तान जन्माउन सक्ने प्रकृतिक क्षमताले पुरुष समाजको चिन्तनमा धेरथोर परिवर्तन हुँदै गयो, जसको फलस्वरूप महिलालाई उपभोगको वस्तु र सन्तान जन्माउने मेसिनका रूपमा हेरिन थालियो । 

मानव सभ्यताको विकासका क्रममा पुरुषले आफ्नो शक्तिको आधारमा महिलालाई आफ्नो अधीनमा राख्ने परम्पराको विकास हुन थाल्यो । त्यति मात्रै कहाँ हो र ! एक जना पुरुषले एकभन्दा बढी महिलालाई आफ्नो अधीनमा राख्ने चलन पनि चल्न थाल्यो । यसका साथै पुरुष समाजले जमिनमाथि पनि आफ्नो आधिपत्य जमाउने प्राथाको सुरुवात हुन थाल्यो । यसरी पुरुषले आफ्नो परिवार र समाजमा एकाधिकार जमाउन थाल्यो । कामको बाँडफाँटमा परिवारको आकार हेरेर भागबन्डा गर्न थालियो । यस प्रथाले परिवारमा विभेदको भावना जन्म भयो । महिलालाई दोस्रो दर्जाका रूपमा स्थापित गर्दै जाने चिन्तनको पनि विकास हुँदै गयो । जति मानव समाजको विकास हुँदै गयो, त्यति नयाँ संरचना, दृष्टिकोण र परम्पराको पनि विकास हुँदै गयो । पुरुष समाजको मानसिकतामा पनि महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गयो । महिलालाई आफ्नो निजी सम्पत्तिका रूपमा हेर्न थालियो । यद्यपि त्यो समयमा एक ठाउँका महिलालाई अर्को ठाउँमा ल्याउनका लागि शक्ति प्रदर्शनको आवश्यकता थियो । थुप्रै मानिस जम्मा गरेर महिलालाई आफ्नो ठाउँमा ल्याउने गर्थे । यो शक्तिलाई देखेर सायद महिलाले आफूलाई सजिलैसँग समर्पण गरिदिन्थे होला । 

पछिपछि महिलालाई आफ्नो बनाउने चलनलाई विवाहको नाम दिन थालियो । विवाह प्रथालाई वैधानिकता पनि दिइयो । यो प्रथाले बिस्तारै परिवारको रूप लिन थाल्यो । जन्म दिनेलाई आमा र महिला गर्भवती बनाउने पुरुषलाई बा भन्न थालियो । यसरी परिवारको स्थापना भएको देखिन्छ । महिलाले आफ्नो समय सन्तान जन्माउन र हुर्काउनमा बिताए । एउटा परिवारमा श्रीमान्को मृत्यु भयो भने श्रीमती सती जाने प्रथा पनि चल्यो । सती प्रथाको त अन्त्य भयो तर विधवा प्रथा सुरु भयो । लोग्नेको मृत्युपछि उसकी स्वास्नीले रातो लुगा र शृङ्गारको सामानबाट टाढै बस्नुपर्ने संस्कारको थालनी भयो । विवाह गरेको भोलिपल्टै कथंकदाचित् लोग्नेको मृत्यु भयो भने उसकी श्रीमतीले जीवनभर अर्को विवाह गर्ने त परै जाओस्; परपुरुषको अनुहारसम्म हेर्न हुँदैन भन्ने संस्कारको विकास भयो । सधैँ हरिराम जपेर भगवान्लाई सम्झेर आफ्नो जीवन बिताउनुपर्ने रे ! मिठो र पोषिलो खानेकुरा पनि खान हुँदैन रे ! आजभोलि त यो चलन पनि बिस्तारै हट्दै छ । 

यसरी पितृसत्तात्मक समाजले महिलाका खुसी, स्वतन्त्रता, अधिकार सबै कुण्ठित गर्न थाल्यो । महिलालाई समाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा स्वर्ग र नरकको भयभित्र गुम्स्याउन थालियो । महिलाले स्वच्छन्द आकाशमा पखेटा फिँजाएर उड्न पाएनन् । तिनका पखेटा घरको चार घेराभित्र कैँचीरूपी संस्कारले चटचट काट्दै जान थाल्यो । ‘बिचरी’ शब्दले महिलालाई दया र सहानुभूतिका जालोभित्र राख्न थाल्यो ।वास्तवमा परिवाररूपी रथलाई सहज र सरल ढङ्गबाट परिचालित गर्न श्रीमान् र श्रीमतीरूपी दुई पाङ्ग्राको आवश्यकता महसुस गरिएको हो । यो सत्य पनि हो । यस सत्यभित्र लुकेको तथ्यलाई घिउ थप्दै आगो बाल्ने काम महिलालाई प्रताडित गर्न सिपालु पुरुष चिन्तनको देन हो । 

हिजोका दिनमा श्रीमान्को मृत्यु भए श्रीमतीलाई विधवा भनिन्थ्यो । आज तिनै महिलालाई ‘एकल महिला’ भनी सम्बोधन गर्ने चलन चलेको छ । यसलाई सकारात्मक रूपमा पनि लिन सकिन्छ । एकल महिलालाई हेर्ने दृष्टिकोणमा केही फरक भए पनि व्यवहारमा धेरै परिवर्तन हुन अझै बाँकी छ । आज पनि कतिपय ठाउँमा उनीहरूलाई परिवार र समाजले हेय दृष्टिले हेर्ने गर्छन् । आर्थिक विपन्नता र वृद्ध पनि भए त झन् बोक्सी, चुडेल, डायन आदि शब्द प्रयोग गर्ने गर्छन् । शङ्का नै शङ्का भरमा शारीरिक र मानसिक यातना पनि दिने गरिएको पाइन्छ । 

आर्थिक र शैक्षिक अवस्था फरक भएका जुनसुकै उमेरका एकल महिला धर्मसंस्कृतिका कारण भेदभाव र ज्यादतीका सिकार बनेका छन् । एकल महिला बेला बेलामा शारीरिक र यौन हिंसा अनि घरेलु हिंसाबाट पनि पीडित छन् । कहीँ कहीँ त एकल महिलालाई अलच्छिनी जस्ता अपशब्द पनि प्रयोग गरिएको पाइन्छ । यसले एकल महिलाको मनोबलमा असर पुर्‍याइरहेको छ । समाजमा यस्तो व्यवहार पाएर एकल महिलाको जीवन तातो तावामा छटपटिइरहेको माछा जस्तै भइरहेको छ । लोकतन्त्रको स्थापनापछि एकल महिलालाई रातो अबिर, रातो कपडाले सजाइदिने कार्य नभएका होइनन् तर यति गर्दैमा एकल महिलाको जीवन सुखमय हुन सक्दैन । एकल महिलालाई राज्यले वार्षिक ४८ हजार रुपियाँ प्रदान गर्दै आएको छ । यसले केही राहत त मिलेको छ तर दिन दुई गुना रात चौगुनाका दरले हरेक क्षेत्रमा महँगी बढी रहेको छ । यो अवस्थामा उनीहरूको जीवन कष्टप्रद नै छ । 

रोजगारी र अध्ययनका क्रममा देशका युवा विदेश गइरहेका छन् । यो संस्कार तीव्र गतिमा बढ्दै छ । यसले एकल महिलाले परिवारमा पनि एक्लो जीवन बिताउनु परिरहेको छ । यस्तो अवस्थामा राज्यले एकल महिलाको वास्तविक तथ्याङ्क राख्नु पर्छ । एकल महिलाको रेखदेख गर्ने जिम्मेवारीको व्यवस्थामा पनि राज्यले ध्यान दिनु पर्छ । होइन भने युवालाई स्वदेशमै रोजगारी र अध्ययनको व्यवस्थ गर्नु पर्छ । एकल महिलालाई कानुनी झमेला पर्ने गरेको छ । उनीहरूका लागि कानुनी सहायता पनि उपलब्ध गराउनु पर्छ । राज्यले निःशुल्क कानुनी सहयोगका छुट्टै निकायको स्थापना गर्नु पर्छ । उनीहरूलाई घरव्यवहारका विषयमा अलग राखिन्छ । फलस्वरूप ती महिला मानसिक रूपमा पीडित बन्न पुग्छिन् । यस्तो अवस्थामा राज्यले बलियो कानुन बनाउनु पर्छ । बेला बेलामा यस्ता परिवारको अनुगमन गर्नु आवश्यक छ ।

घरभित्र र घरबाहिर हुने विभिन्न प्रकारका समाजिक तथा सांस्कृतिक हिंसाबाट उनीहरूलाई सुरक्षित राख्नु पर्छ । आर्थिक रूपमा निर्भर गराउनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नु पर्छ । मानव अधिकार संरक्षण गर्न समाजिक, आर्थिक, सांस्कृतिक न्यायका लागि विभेदपूर्ण कानुन हटाई सकारात्मक नीति र नियमको निर्माण गर्नु पर्दछ । नेवार जातिमा एउटा संस्कृति छ । त्यो हो– छोरीको बेल विवाह । बेल विवाह गर्दा ११ दिनसम्म सूर्यलाई हेर्न हुँदैन । १२ औँ दिनको दिन विधि अनुसार सूर्यको दर्शन गरिन्छ । सूर्यलाई वरका रूपमा मानिन्छ । वास्तवमा झट्ट सुन्दा अलिकति मनमा केही शङ्का लाग्न सक्छ तर यस संस्कृतिले छोरीलाई पूर्ण रूपमा विधवा अथवा एकल हुनबाट सुरिक्षत राखेको छ । यो संस्कृतिले बेललाई महादेवको प्रतिरूप मानेको छ । यसर्थ महादेव भनेको आदिदेखि अन्त्यसम्म अजर, अमर, निराकार, साकार सबै थोक हुन् । त्यसैले छोरीको विवाहपछि श्रीमान्को मृत्यु भए पनि तिनी विधवा हुन्नन् । यो संस्कृतिले नेवार जातिमा छोरीलाई एकल महिला हुनबाट बचाएको छ । 

महिला र पुरुषमा विभेद कायमै रहेको उदाहरण यहाँ पनि प्रस्तुत गर्न सकिन्छ । श्रीमतीको मृत्युपछि श्रीमान्ले न किरियामा बस्नु पर्छ न त उनीहरूले सेतो वस्त्र नै लगाउनु पर्छ । बरु श्रीमती मृत्यु हुने श्रीमान्को घरबार बिग्रन थाल्यो भन्दै अर्को विवाहका लागि केटी खोज्न थालिन्छ । त्यसैले संस्कारका कुरामा पनि समानता हुनु जरुरी छ । विवाहपछि महिला र पुरुष एकअर्काका परिपूरक हुने गर्छन् । एकअर्काका सुखदुःखका साथी बन्ने गर्छन् । जीवनरूपी रथका दुई पाङ्ग्रा हुन्– महिला र पुरुष । सिक्काका दुई पाटा हुन्– श्रीमान् र श्रीमती । दुवै जनाको पाइला सँगसँगै हिँड्नु पर्छ । हिँडेका पनि छन् । गुडेका पनि छन् । दौडेका पनि छन् । 

यी प्रसङ्गलाई यहाँ प्रस्तुत गर्नुको तात्पर्य श्रीमान्को मृत्युपछि श्रीमती एकल हुन्छिन् त भन्ने प्रश्न हो । एक्काइसौँ शताब्दीका आजका महिला आधा आकाश, आधा धरती ओगटेर बसेका छन् । स्वतन्त्रता र समानताका लागि सधैँ सङ्घर्ष गर्दै उज्यालो मार्गतिर हिँडिरहेका छन् । विश्वका महिला एक हौँ भन्दै समाजिक, राजनीतिक, आर्थिक हरेक क्षेत्रमा अगाडि बढेका छन् । त्यसैले श्रीमान्को मृत्युपछि महिला कसरी एकल भए ? श्रीमान्को परिवार आफ्नो होइन र ! यस्तै यस्तै सकारात्मक सोचको फलस्वरूप एकल महिला भन्न अलिकति मिल्दैन कि भन्ने जस्तो पनि लाग्छ । 

अन्त्यमा महिला सृष्टिको संरचनाको मूल आधार हो । मर्नु र बाँच्नु प्रकृतिको चक्र हो । यो चक्रलाई हामीले आत्मसात् गर्नु पर्दछ । समानताको यो युगमा एकल महिलाको जीवनलाई सार्थक बनाउनका लागि जो कसैले पनि सहयोग गर्न सक्छन् । बस् मनमा इच्छा हुनु पर्छ, हातमा सिप र जाँगर हुनु पर्छ । परिवार, समाज, राष्ट्रको विकासमा महिला सशक्तीकरण आजको आवश्यकता हो ।

  

Author

सुशीला प्रधानाङ्ग