• ११ मंसिर २०८१, मङ्गलबार

बेरोजगार हुनुको पीडा

blog

दिलुको प्रवेशपत्र चेकजाँच भयो । अर्काे चरणमा उनले तीन वटा घोप्टो पारेर राखिएका गोटीबाट एउटा रोजिन् । लेखिएको थियो (३) तीन । यसको मतलब उनले तीन नम्बर लेखिएको रुख चढ्नु पथ्र्याे । कम्मरमा आफ्नै कुर्थाको सलले पटुका बाँधिन् । प्लास्टिकको चप्पल खोलिन् । माटोमा खुट्टा दलिन् र आफू चढ्ने रुखको टुप्पोलाई हेरिन् । रुखलाई ढोगिन् र पहिलो स्पर्र्श गरिन् । तल्लो बिन्दुलाई नियालिन्, जहाँ खोबिल्टो कुँदिएको थियो र त्यसमा आफ्नो पहिलो पाइला राखिन् ।

मङ्सिर महिनाको ठिउर्‍याउने जाडो । बिहानै जमिनमा तुसारोसरी शीत थियो । रुखले ढाकिएको घाम नपर्ने ठाउँ । प्रतियोगीको भिडमा उनी रुख चढ्न तयार थिइन् । जाडोका कारण उनको शरीर चलायमान हुन सकेकै थिएन । मुटुको ढुकढुकीको चाल बढाइरहेको उनले थाहा पाएकी थिइन् । जाँच न हो । कताकता उनी डराइरहेकी थिइन् । रुख पुग्नुभन्दा अगाडि सशस्त्र बर्दीवाला तीन जना लहरै उभिएका थिए । 

सहायक केन्द्राध्यक्ष लेखिएको कार्ड भिरेको एक जना बर्दिवालाले रुख चढ्नुअघि केही कुरा सुझायो । “यो रुखको जमिनदेखि माथि चार मिटरको दुरीमा रातो घेरा लगाइएको छ । त्यो महिला प्रतिस्पर्धीका लागि हो । अनि अर्काे घेरा पाँच मिटरको दुरीमा लगाइएको छ । त्यो पुरुष प्रतिस्पर्धीका लागि हो । रातो घेराभन्दा केही तल सेतो घेरा छ । सेतो घेरालाई पार गर्दै रातो घेरा पनि पार गर्नुपर्ने हुन्छ । कति अवधिमा चढेर सक्ने भन्ने समय किटान गरिएको छैन । बिस्तारै नआत्तिएर चढ्न सक्नु हुन्छ । भुइँमा झरिसकेपछि फेरि चढ्न पाइने छैन । फेरि कोसिस गर्न केहीबेर रुखमै आराम गर्न सक्नुहुने छ ।” 

लहरै तीन वटा रुख प्रतियोगिताका लागि छानिएका थिए । हजारौँ प्रतियोगीले चढ्दा चढ्दा रुख मार्बलका तखता जस्ता चिल्ला भइसकेका थिए । केराको बोट चढे बराबर थिए ती काइँयोका रुख । कुनै हाँगाबिँगा थिएनन् न त कतै काटिएका हाँगाका खत नै थिए । खस्रा बोक्रा पनि खाग्सी लगाएर चिल्ला पारिए जस्ता । ती रुखलाई एक, दुई र तीन गरेर नामाङ्कन गरिएका थिए । दिलु हिजो आएर त्यो रुखको चार मिटर माथि चढेर फर्किसकेकी थिइन् । उनलाई पूरा विश्वास थियो, चार मिटरको दुरी पार गर्छु । 

दिलु पहिलो सेतो घेरासम्म गइन् । हर कोसिस गर्दा पनि त्यसभन्दा माथि जानै सकिनन् । तल झरिन् र सुरुको अखेट्टोमा खुट्टा अड्याइन् । केहीबेर आराम गरेर फेरि माथि जाने प्रयत्न गरिन् । अझै सकिनन् । फेरि सुरुकै अखेट्टोमा आएर रोकिइन् । यस्तै रितले उनले धेरै चोटि प्रयत्न गरिरहिन् तर सफल भइनन् । उनले पहिलो स्वास्थ्य परीक्षण पास गरेर तीन हजार र पन्ध्र हजार मिटरको दौड पनि पास गरिसकेकी थिइन् । यो प्रतियोगितामा पास भए उनले पौडी खेल्ने (अर्काे चरणको जाँच) अनुमति पाउने थिइन् । पौडीमा पनि पास भए लिखित परीक्षामा सामेल हुने अनुमति पाउँथिन् । सकिनन् । उनका हात गले, ज्यान थाकेर भुइँमा झरिन् । 

रुखको फेदमा थुपारिएको परालको थुप्रोमाथि दिलुले तुरुक्क आँसु झारिन् । यो उनको ग्लानिको आँसु थियो । उनले अघिल्लो दिन चढ्न सकेको रुख आज सकेकी थिइनन् । उनको हिम्मत टुटेको थियो । साथै उनको सपना पनि । उनी अनुरोध गर्दै थिइन्, “मलाई एउटा मौका फेरि देऊ, जसरी पनि म पास हुनु छ । मैले यो जाँच पास गर्नै पर्छ । मैले जागिर खानै पर्छ । घरमा मेरो सानी छोरी छ । उसलाई मैले पाल्नु पर्छ । त्यसका लागि पनि मैले पास हुनै पर्छ । कृपया मलाई एक मौका फेरि देऊ ।” उनको बिलाप सार्थक थियो । पास हुनु थियो । सरकारी जागिर खानु थियो । छोरीको लालनपालन गर्नु थियो । आफ्नो जीवन पनि सुखमय बनाउनु थियो । यो सबै गर्न उनकै परिश्रमले धोका दियो । 

जाँचको पनि आफ्नै मर्यादा थियो । दिलु एक जनालाई दोहो¥याएर मौका दिँदा हजारौँ असफल हुनेलाई पनि मौका दिनु पथ्र्यो । यहाँभन्दा अगाडिकाहरूबाट विरोध आउँथ्यो । अनुत्तीर्ण हुनेहरू सबैका सपना यस्तै गरी चकनाचुर भएका थिए । उनीहरू पनि मौका लिन तम्सिन्थे । चारैतिर रमिते भएर बसेकाहरूले पनि विरोध गर्ने निश्चित थियो । विरोधको कुरा आफ्नै ठाउँमा छ, आयोगको मर्यादा पहिलो थियो । दिलु एक जनाका लागि परीक्षाको नियम परिवर्तन गर्न सकिँदैनथ्यो । मर्यादा तोड्न सकिँदैनथ्यो ।

दिलु अगाडि भन्दै थिइन्, “म फर्केर घर जान सक्तिनँ । मलाई गाह्रो छ, म यतै मर्छु बरु फर्किन्नँ । म छोरी मात्रै हैन, बुहारी पनि हुँ । दुई वर्षकी छोरी छ । यहाँसम्म आउनका लागि घरबाट सहमति पाएकी थिइनँ । झगडा गरेर आफ्नै जिद्दीले निस्केकी हुँ । जसरी पनि पास हुनै पर्छ । नत्र भने मेरो जिद्दी मिथ्या हुने छ । पास भएरै आउँछु भनेकी छु । यो मौका पार गरिनँ भने घर जानुको कुनै औचित्य छैन । मैले कसरी मुख देखाउनु ? मलाई त यसै मरेसरी त्यसै मरेसरी, बरु म यहीँ मर्छु, म फर्केर जान्नँ । कृपया मलाई एकचोटि मौका दिनुहोस्, म अब रुखको दुरी चढेरै देखाउने छु ।” 

दिलुको दर्द, पीडा र बिलौना सबैको मन मुटुलाई छुने खालको थियो । उनको भनाइबाट उनीमाथि के गुज्रेको छ, त्यो पनि बुझिन्थ्यो । उनका आँसुले सबैको मन पग्लेको थियो तर पनि उनलाई पुनः मौका दिन सकिँदैनथ्यो । उनलाई पुनः मौका दिनु भनेको अन्य प्रतिस्पर्धीमाथिको न्याय खोस्नु थियो । दिलु एक जनालाई पुनः मौका दिँदा साढे १२ हजार प्रतिस्पर्धीको न्याय हरण हुन्थ्यो । ५२ जनाका लागि खुलेको विज्ञापनमा साढे १२ हजार जनाको निवेदन थियो । बृहत् प्रतिस्पर्धा । आठ कक्षा पासको योग्यता तोकिएको वनरक्षकको विज्ञापनमा बिएससी पास गरेका प्रतियोगीको आवेदन परेको 

थियो । यसले मुलुकमा भएको बेरोजगारीको चित्रण गथ्र्याे । यो प्रतिस्पर्धामा दिलुको आँसु र अनुरोधलाई न्याय गर्न सकिने अवस्था थिएन । 

यी सबै जनालाई शारीरिक परीक्षण, दौड, रुख चढ्ने र पौडीमा तोकिएका मापदण्ड पूरा गरी योग्य ठहरिए भने मात्रै लिखित परीक्षामा सामेल हुन पाउने मापदण्ड थियो । आखिर ३२ सय ३२ जना मात्रै यो प्रयोगात्मक प्रतियोगितामा पास भए । दिलुलगायत बाँकीका सबै जना लिखित परीक्षासम्म पुग्न सकेनन् । दिलु जस्तै महिला अरू पनि थिए । कोहीले यो प्रतियोगिता जिते भने धेरैले सकेनन् । 

थाहा छ, महिलाको अवस्था अझै पनि पछाडि छ । मुलुकको सकारात्मक विभेदले केही हदसम्म महिलालाई राहत मिलेको छ । मनकारी बाबु छन् भने छोरीले स्कुलसम्मको शिक्षा हासिल गर्न पाउँछिन् । ज्ञानी बाबु छन् भने उच्च शिक्षा हासिल गर्छिन् । महान् सासुससुरा मिलेछन् भने घरबाहिर गएर योग्यता अनुसारको जागिर गर्ने मौका पाउँछिन् । माया गर्ने र पिरमर्का बुझ्ने पति मिलेछन् भने महिलाका सबै सुखदुःखमा साथ हुन्छ । नत्र भने महिलाले महिला नै भएर जीवन व्यतीत गर्नुपर्ने हुन्छ । घरका आँगन नै उनीहरूको संसार हुन्छ । चुलोचौको नै सबैथोक । 

अझै महिलाको पढाइ लेखाइलाई बाबुको आयआर्जनले पनि असर पार्छ । कतिपय पैसावाल बाबुले छोरालाई बोर्डिङ स्कुल र छोरीलाई सरकारी स्कुलमा पढाएको पनि देखिन्छ । मनका गरिब पति छन् भने महिलाको विकासको चौतर्फी ढोका बन्द हुन्छ । बिस्तारै आफैँले जन्माएको छोराले पनि भन्न थाल्छ, “तिमीलाई केही थाहा छैन, चुप लागेर बस ।” सायद दिलुको घरको अवस्था पनि यस्तै हुनु पर्छ । त्यसैका कारण उनी परीक्षा केन्द्रमै प्राण त्याग्न तम्सिन् । बिनाअनुमति आएकी उनी पास भएर देखाउन चाहन्थिन् तर बिडम्बना, सकिनन् । अब उनलाई घर फर्किन कठिन भयो, जति प्राण त्याग गर्न सजिलो छ । 

यस्ता दिलुहरू तमाम छन् हाम्रो समाजमा । बच्चा पाउनै पर्छ । घरको सबै काम गर्नै पर्छ । सासुससुरालाई रिझाउनै पर्छ । श्रीमान्लाई खुसी तुल्याउनै पर्छ । यति गर्दा पनि उनलाई पैसाको जहिल्यै कमी भइरहन्छ । घरको कामले उनलाई पैसा आउँदैन । पैसाका लागि घरबाहिर काम गर्नै पर्छ । बाहिर काम गर्न खोज्दा दिलुको जस्तै मानसिक समस्याले गुज्रिनु पर्छ । 

  

Author

बसन्तीकुमारी शाही