• ११ मंसिर २०८१, मङ्गलबार

महिलाको हातमा नौमती बाजा

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, माघ २७ गते । शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम दिन सुरु गरेको छ । झापामा पछिल्लो पटक कनकाई नगरपालिका र बिर्तामोड क्षेत्रका महिलाले तालिम लिएर व्यावसायिक रूपमै नौमती बाजा बजाउन सुरु गरेसँगै शिवसताक्षी नगरपालिकाले समेत यस प्रकारको तालिम सुरु गरेको हो ।  

नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने दक्ष व्यक्तिसमेत अभाव भइरहेका बेला शिवसताक्षी नगरपालिकाबाट नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताउनुभयो । 

तालिम उद्घाटन गर्दै नगर प्रमुख थोप्राले आधुनिक बाजाको प्रभावले नेपालीको मौलिकता ओझेलमा परिरहेको महसुस गरी मौलिक बाजाको प्रशिक्षणमार्फत सांस्कृतिक जगेर्ना गर्न नगरपालिकाले तालिम आयोजना गरेको बताउनुभयो । कला संस्कृतिको जगेर्नामा सबै जाति र समुदाय, लिङ्गको दायित्व बराबरी हुने भएकाले महिलालक्षित तालिम आयोजना गरिएको शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले बताउनुभयो । ‘महिलासँग उपमेयर’ कार्यक्रम अन्तर्गत गृहिणी महिलालाई आवश्यक ज्ञान, सिप र प्रविधिसमेत प्रदान गरी नेपाली मौलिकता जगेर्ना गर्दै आर्थिक विकासमा महिलाको योगदान निर्दिष्ट गरी स्वावलम्बी बनाउने उद्देश्यका साथ यो कार्यक्रम वार्षिक कार्यक्रममा समावेश गरिएको नगर उपप्रमुख नगरमाया कार्कीले जानकारी बताउनुभयो ।