• १८ वैशाख २०८१, मङ्गलबार

दुई खर्बले बढ्यो कर्जा

blog

काठमाडौँ, माघ २७ गते । चालु आर्थिक वर्ष २०८०/८१ को छ महिना बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ९२ अर्ब ६४ करोड रुपियाँ (४.० प्रतिशत) ले बढेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ३७ अर्ब ३३ करोड रुपियाँ (३.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।

कर्जा बढनुमा तरलताको अवस्था सहज हुनु र बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेर कर्जायोग्य रकम थुप्रिँदा कर्जाको ब्याजदर घट्दै जानु नै रहेको पाइएको छ । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले पाँच खर्ब १५ अर्ब ११ करोड रुपियाँ तरलता (कारोबारमा आधारित) उपयोग गरेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत पाँच खर्ब १३ अर्ब ९१ करोड रुपियाँ गरी कुल पाँच खर्ब १५ अर्ब ११ करोड रुपियाँ तरलता (कारोबारमा आधारित) उपयोग गरेका हुन् । यस्तै निक्षेप सङ्कलन बोल कबोलमार्फत तीन खर्ब १५ अर्ब ५५ करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद ३० खर्ब ९९ अर्ब ४६ करोड रुपियाँ तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क) बाट अमेरिकी डलर दुई अर्ब ७६ करोड खुद खरिद गरी तीन खर्ब ६६ अर्ब १४ करोड रुपियाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ७६ करोड खुद खरिद गरी तीन खर्ब ५८ अर्ब ९० करोड रुपियाँ तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर एक अर्ब ८२ करोड बिक्री गरी दुई खर्ब ४२ अर्ब आठ करोडबराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब २८ करोड बिक्री गरी दुई खर्ब ९६ अर्ब २२ करोडबराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

यस्तै आव २०८०/८१ को छ महिनामा वाणिज्य बैङ्कहरूको २३ खर्ब १६ अर्ब ९८ करोड रुपियाँ र अन्य वित्तीय संस्था (वाणिज्य बैङ्कबाहेक) को दुई खर्ब ५७ अर्ब २२ करोड रुपियाँ गरी कुल २५ खर्ब ७४ अर्ब २० करोड रुपियाँको अन्तरबैङ्क कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको १८ खर्ब ४३ अर्ब आठ करोड रुपियाँ र अन्य वित्तीय संस्थाको एक खर्ब ८२ अर्ब चार करोड रुपियाँ गरी कुल २० खर्ब २५ अर्ब १२ करोड रुपियाँको अन्तरबैङ्क कारोबार भएको थियो ।