• १५ मंसिर २०८१, शनिबार

दरबाङ–धारापानी सडकको स्तरोन्नति

blog

ग्राभेल गरिएको सडक । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ २६ गते ।  म्याग्दीको पश्चिम दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिका केन्द्रदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत करिब ७ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । 

सडक स्तरोन्नति भएसँगै धवलागिरी गाउँपालिकावासीले साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत दरबाङ– धारापानी खण्डको सडक स्तरोन्नतिका लागि चार वर्षअघि ठेक्कामार्फत योजना कार्यान्वयन थालिएको थियो । 

दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण काम प्रभावित भएपछि दुई वर्ष ठेक्काको अवधि थपिएको थियो । थपिएको ठेक्का अवधिभित्र निर्माण व्यावसायीले योजना सम्पन्न गरेका छन् । 

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले १४ करोड ३८ लाख ६७ हजार एकसय ७६ रुपियाँमा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते वहुवर्षीय ठेक्का सम्झौता गरेको थियो । 

योजना अन्तर्गत साँघुरो सडकलाई फराकिलो, साँघुरा घुम्तीलाई चौडा, बादिकाको भीर काटेर सडक फराकिलो पारी तीनसय मिटर ढलान, नाली निर्माण, ग्यावियन जाली लगाउने, कल्भर्ट निर्माण, कजवे निर्माण, टेवा पर्खाल गरी ७ मिटर चौडाइमा सडक ग्राभेल गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले जानकारी दिनुभयो । 

बादिकाको भीरमा आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बादिकाको अप्ठ्यारो भीरको करिब तीनसय मिटर सडक ढलान गरी सहज बनाइएको छ ।

कोरोनाका कारण समयमा काम सम्पन्न नगरे पनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरेको निर्माण व्यवसायी प्रतिनिधि प्रधुम्न कुँवरले बताउनुभयो ।  

यसैगरी धारापानीदेखि सिवाङसम्म सडक स्तरोन्नतिका लागि २५ करोड लागत अनुमान गरी योजना कार्यान्वनयका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ । 

योजना अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडकको धारापानी देखि ७ किलोमिटर अगाडि सिवाङसम्म सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न आगामी चैत महिनासम्म ठेक्का लगाइ योजना कार्यान्वयन  थालिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।