• १ जेठ २०८२, बिहिबार

माओवादी स्थायी कमिटी बैठक : पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्छ

blog

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक ।

काठमाडौं, माघ २६ गते। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन्। 

शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताले संविधानमा नै समाजवाद उन्मुख राज्य व्यवस्थाको उल्लेख गरिएको भन्दै पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखेका हुन्। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताहरुले जोड दिएको बताउनुभयो। त्यस्तै, केन्द्रीय समिति १५१ सदस्यीय बनाउने गरी छलफल भएको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘हाम्रो संविधानमा प्रस्तावनामा लोकतन्त्रमा आधारित समाजवाद भनेको छ र प्रारम्भमा समाजवाद उन्मुख राज्यव्यवस्था भनेको छ, त्यसैगरी हाम्रो विधानमा पनि समाजवाद उन्मुख राज्य व्यवस्था भनेर संविधानमा जसरी उल्लेख गरेको छ। विधानमा पनि समाजवादी मूल्य, मान्यता, आदर्श स्थापित हुनेगरी, समाजवादी विचारधारा अभिव्यक्त हुनेगरी लेख्नुपर्छ भन्ने छ। अर्को, छलफलको महत्त्वपूर्ण विषय के छ भने हाम्रो कमिटीहरु ठूला छन्। कमिटीहरु चुस्त, दुरुस्त हुनुपर्छ भनिएको छ। केन्द्रीय समिति १५१ को हुनुपर्छ भन्ने सामान्य छलफल चलिरहेको छ। फेरि यी सबै कुराको अन्तिम निष्कर्ष त विधान सम्मेलनमै गएर हुन्छ। आज सैद्धान्तिक, नीतिगत छलफल बढी भयो। अध्यक्षले अरु सबै सुझाव लिखित रुपमा दिनुहोला भन्नुभएको छ।’’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन, विधान र केन्द्रीय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ब्रिफिङ गर्नुभएका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। त्यस्तै, शान्ति प्रक्रियालाई टुंग्याउनका लागि दलका बीचमा घनिभूत रुपमा छलफल भइरहेको अध्यक्ष दाहालले बताउनुभएको उहाँको भनाइ छ। 

शुक्रबारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राख्नुभएको उहाँले जानकारी दिनुभयो। त्यस्तै सचिवहरु गणेश साह र राम कार्की तथा स्थायी कमिटी सदस्य शशी श्रेष्ठले बैठकमा धारणा राख्नुभएको छ। बैठक शनिबार  बस्नेछ।