• १२ वैशाख २०८२, शुक्रबार

राजनीति ठीक नभई अरु क्षेत्र सुध्रिFदैन : उपाध्यक्ष पौडेल

blog

पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको १० औँ केन्द्रीय परिषद्लाई सम्बोधन गर्नुहुँदै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल । तस्विर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, माघ २६ गते । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको समृद्धिका लागि सबैभन्दा पहिले राजनीति ठीक हुनुपर्ने बताउनुभएको छ । 

पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको १० औँ केन्द्रीय परिषदमा उहाँले यस्तो धारणा राख्नुभएको हो । पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले राजनीतिक नेतृत्व ठीक हुँदा सबै क्षेत्र सुध्रिँदै जाने उल्लेख गर्नुभयो । “जबसम्म राजनीति दुरुस्त हुँदैन, सबै क्षेत्र दुरुस्त हुँदैनन् । राजनीति नसुध्रिई अरु क्षेत्रमा सुधार आउँदैन” उहाँले भन्नुभयो । 

परिषद् बैठकले संस्थाका कामको मूल्याङ्कन गर्दै प्रभावकारी भावी रणनीति निर्माण गर्नुपर्नेमा उहाँको जोड छ । गुणस्तरीय सेवा र चुस्त व्यवस्थापन भए नेपाल टेलिकमलाई अन्य कम्पनीले कहिल्यै उछिन्न नसक्ने तर्क गर्नुभयो । टेलिकमको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गर्दा २० अर्ब राजस्व तिर्नुपर्ने प्रावधान व्यावहारिक नभएको जिकिर गर्दै उहाँले आम्दानीका आधारमा शुल्क तिनुपर्ने व्यवस्था गर्न माग गर्नुभयो ।

अहिले प्राविधिक विषयमा समेत शिक्षालयमा विद्यार्थी नहुने अवस्था आएको औँल्याउँदै उहाँले समस्या समाधानका लागि गम्भीर हुन आग्रह गर्नुभयो । “अहिले साधारण खर्च धान्ने आन्तरिक ऋण उठाउनुपर्ने अवस्था आएको छ । देशका समग्र समस्याको समाधान गर्न एमालेको नेतृत्व जरुरी छ” उहाँले भन्नुभयो, “त्यसका लागि आगामी आम निर्वाचनमा एमालेको एकल बहुमत हुनुपर्छ । हामी त्यो हासिल गर्नेगरी लागेका छौँ ।”

कार्यक्रममा पेशागत महासङ्घका अध्यक्ष पुण्य ढकालले साझा सरोकारका विषयमा अन्य सङ्गठनसँग पनि सहकार्य गर्दै अघि बढ्न आग्रह गर्नुभयो । निजामती कर्मचारीलाई आठौँ तहसम्म ट्रेड युनियन अधिकार दिइएकोमा संस्थानमा छैटौं तहमाथि यो अधिकार नदिइनु न्यायोचित नभएको उहाँको भनाइ छ । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष मोहन फुयाँलको अध्यक्षतामा कार्यक्रम भएको हो ।