• १२ वैशाख २०८२, शुक्रबार

भारतले नेपालसँग अझै बलियो सम्बन्ध बनाउन चाहेको छः सभापति यादव

blog

भारत भ्रमणसम्बन्धी प्रतिवेदन अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका बैठकमा प्रस्तुत गर्नुहुँदै सभापति राजकिशोर यादव । तस्बिर : गोरखापत्र

काठमाडौं, माघ २६ गते । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले भारतले नेपालसँग अझ राम्रो सम्बन्ध बनाएर जान चाहेको बताउनुभएको छ ।

शुक्रबार भारत भ्रमणसम्बन्धी प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गर्नुहुँदै उहाँले भारतीयहरुले नेपाललाई हेर्ने दृष्टिकोणमै बदलाव आएको दाबी समेत गर्नुभयो । सभापति यादवले भारतले अर्थतन्त्रमा विश्वलाई नै नेतृत्व गर्ने लक्ष्य लिएको र त्यसका लागि भारत सरकार र त्यहाँका सांसदहरुले नेपालसँग अझै बलियो सम्बन्ध बनाएर जान चाहेको पनि आफूहरुसँगको छलफलमा बताएको उल्लेख गर्नुभयो ।

सभापति यादवकाअनुसार भारतीय नेता र सांसदहरुले नेपाल एउटा इमान्दार मित्र भएकाले पनि सम्बन्धमा गाढापन ल्याउनुपर्ने बताएका थिए । भारतीय सांसदहरुले आफूहरुसँगको भेटमा नेपालको समृद्धि आफूहरुको चाहना रहेको पनि बताउनुभएको पनि सभापति यादवको भनाइ थियो । उहाँले आफूहरुले पनि भारतीय नेता तथा सांसदहरुसँगको भटमा नेपालको शिर ठुलो हुनेगरी प्रस्तुति दिएको दाबी समेत गर्नुभयो ।

सभापति यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ देखि २४ गतेसम्म भारत भ्रमण गरेको थियो । भ्रमणका क्रममा सो टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशङ्कर, भारतीय संसदअन्तर्गतको विदेश मामिलासम्बन्धी संसदीय समितिका सांसदलगायतसँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।