काठमाडौं, माघ २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका जनसम्पर्क समितिका पदाधिकारीसँग भर्चुअल संवाद सुरु गर्नुभएको छ । आसन्न फागुन ७-१० मा हुने कांग्रेसको महासमिति बैठकमा प्रवासमा रहेका नेपालीको विचार समेट्न नेता महरले संवाद सुरु गर्नुभएको हो।
जनसम्पर्क समितिका समस्या, पार्टीसँगका अपेक्षा, पार्टीले चाल्नुपर्ने कदम र नेपालमा लगानीको वातावरण निर्माण लगायतका एजेण्डामा छलफल भएको छ ।
भर्चुअल संवादमा नेपाल जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, क्यानडाका सभापति प्रदीपप्रकाश ओली, नेदरल्याण्डका सालिक गौतम, बहराइनका पद्यमसुन्दर गुरुङलगायत ३५ जना सहभागी हुनुहुन्थ्यो ।
जनसम्पर्क समितिका सभापतिले नेपालमा लगानी गर्न चाहेको र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताएका थिए । कांग्रेस र देशका लागि आफूहरूले योगदान गरिरहेको भए पनि देशले माया नगरेको अनुभूति भइरहेको उनीहरूको गुनासो थियो ।
नेपालको सम्पत्ति भोगचलनका सन्दर्भमा पनि नागरिकतामा धेरै कुरा अटाउन नसकेको उनीको भनाइ थियो । विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाका विषयमा कांग्रेसले नीतिमै स्पष्टरूपमा ल्याउनुपर्ने उनीहरुको जोड थियो ।
सम्पर्क समितिहरूको विश्व सञ्जाल बनाएर कांग्रेस केन्द्रीय समितिमा प्रवासबाट पनि प्रतिनिधित्व गराउन उनीहरुको माग थियो ।
दोहोरो नागरिकताको विषय अगाडि बढिसकेको भन्दै त्यसलाई थप बलियो बनाउन पार्टीमा सुझाव दिने महरले बताएका थिए । सम्पत्तिको भोगचलन, लगानी र प्रविधि नेपालमा ल्याउने कुरामा पनि कांग्रेसले पहल गर्नेमा महरले आश्वस्त पारेका थिए।
विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने पक्षमा लबिङ गर्न आफू सधैँ क्रियाशील रहेको भन्दै महरले महासमिति बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभयो ।