• १४ मंसिर २०८१, शुक्रबार

घरदैलोमै सेवा पाएपछि ज्येष्ठ नागरिकमा उत्साह

blog

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिदै । तस्विरः छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, माघ २६ गते । बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख’  कार्यक्रमले ज्येष्ठ नागरिकमा उत्साह छाएको छ ।

तीन दिनअघि बुटवल –१२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर सुरु भएको बाआमासँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत अहिलेसम्म तीनसय बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।

बिहीबार मात्र वडा ३ मा १ सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ४८ जनाको इसीजी र १ सय ४१ जनाको मधुमेह परीक्षण गरिएको छ । ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले आफूलाई खुशी लागेको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुको स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष चासो दिएको र आगामी वर्षमा समेत निरन्तरता दिने बताउनुभयो । घरबाहिर निस्किन नसक्ने र अपाङ्गता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा दिन थालेको पाण्डेको भनाइ छ । 

१९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । 

अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधीहरू निःशुल्क दिइएको उहाँले बताउनुभयो । कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण र उपचारका लागि आउने ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने परीक्षण र औषधीहरु निःशुल्क रुपमा उपलब्ध गराइएको हो । 

उहाँले घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि ज्येष्ठ नागरिकमा उत्साह थपिएको बताउनुभयो । पाण्डेका अनुसार अभियान सञ्चालन हुन बाँकी रहेका वडाबाट समेत चासो व्यक्त गर्दै ज्येष्ठ नागरिकहरु अन्य वडामा सेवा लिन पुग्न थालेका छन् ।