• १३ साउन २०८१, आइतबार

सभापति देउवाको आक्रोश : मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् !

blog

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौं, माघ २६ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लामो भाषण गर्नेप्रति इंगित गर्दै भाषण सुन्ने मानिस खाली भएपनि नेताहरु भाषण गरिरहेको देखिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो । 

उहाँले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गर्नुभयो । उहाँले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खाली भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एक जना बसेको हुन्छ । अनि धन्यवाद । तपाईं त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईंको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।’’ 

उहाँले सबुज बानियाँलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गर्नुभयो । सभापति देउवाले भन्नुभयो, ‘‘एउटा कुरा सबैलाई चित्त दुखेछ, सबुज बानियाँलाई राष्ट्रिय सभाको टिकट दिएन भनेर । अब उहाँले टिकट पाउनुभयो भने जिताउनु होला । अब राष्ट्रिय सभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् । जिताउन सकिँदैन भनेर राष्ट्रिय सभा भनेको जस्तो छ है विचार गर्नुस् । जिताएर छोड्नुस् ।’

सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्त्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिनुभयो।