• १४ मंसिर २०८१, शुक्रबार

कुटपिट गर्ने वडाध्यक्षलाई कारवाही गर्न माग

blog

खजुरा गाउँपालिकाको कार्यालय । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ २६ गते । खजुरा गाउँपालिका –५ का वडाध्यक्षले प्राविधिक कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीका चार सङ्गठनले कारवाहीको माग गरेका छन् । 

कर्मचारीले संयुक्त विज्ञप्ति प्रकाशित गरी दोषीलाई कारवाहीको माग गरेका हुन् । नेपाल निजामति कर्मचारी सङ्गठन बाँकेका अध्यक्ष देवीलाल चौलागाई, नेपाल निजामति कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्धवप्रसाद श्रेष्ठ, नेपाल राष्ट्रिय निजामति सङ्गठन बाँकेका अध्यक्ष नवराज रोकाया र एकीकृत सरकारी कर्मचारी सङ्गठन बाँकेका अध्यक्ष उमेश कुमारले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी सो माग गर्नुभएको छ । 

खजुरा गाउँपालिका –६ स्थित भानु माध्यामिक विद्यालयको खेल मैदानमा माटो पटान गर्ने योजनाको कार्य सम्पन्न प्रतिवेदनका लागि प्राविधिक मूल्याङ्कन गर्न नापजाँचका लागि खटिएका असिस्टेन्ट सब इन्जिनियर लिलाराज धामीलाई खजुरा गाउँपालिका –५ का वडा अध्यक्ष एवं सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरिबे शेषले प्राविधिक मूल्याङ्कन नापजाँच नगरी रकम निकासा गर्न दबाब दिएको र नापजाँच गर्न खोज्दा धामीमाथि कुटपिट गरेर घाइते बनाएको विज्ञप्तिमा उल्लेख छ ।  

सो घट्नाप्रति चार वटै सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनप्रतिनिधिले कर्मचारीको सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् । कुटपिटले कर्मचारीको आत्मसम्मानमा चोट पुग्नुका साथै मनोबल घटेकाले यस्ता घटना तत्काल रोकिनुपर्ने माग गरिएको छ । 

ड्युटीमा रहेका कर्मचारीलाई कुटपिट गर्नेमाथि कारवाही नगरिए आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने कुैन पनि असर, प्रभाव र क्षतिको जिम्मेवार स्वयम् सरकार हुने जानकारी पनि विज्ञप्तिमार्फत गराइएको नेपाल निजामति कर्मचारी सङ्गठन बाँकेका अध्यक्ष देवीलाल चौलागाईले बताउनुभयो । 

उहाँले कर्मचारीको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम गर्न नसकिने जनाउँदै सो बारेमा सबै गम्भीर बन्नुपर्ने पनि बताउनुभएको छ । यसअघि खजुरा गाउँपालिकाका कर्मचारीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर मागपत्र बुझाउँदै वडाध्यक्ष शेषलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।