• ११ मंसिर २०८१, मङ्गलबार

पाँच पुस्तादेखि सगोलमा

blog

पाँच पुस्तादेखि सगोल बस्दैआएको परिवारका दुई दाजुभाइ र परिवारका सदस्य । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा   

कालीकोट माघ २६ गते । जाजरकोटको बारेकोट गाउँपालिका –१ साविकको रामीडाडाँ गाउँविकास समिति वडा २ को बोहोरा परिवार पाँच पुस्तादेखि सगोलमा बस्दै आएको भेटिएको छ । 

सिनाकोटका ८१ वर्षका धनजित बाेहोरा र ७६ वर्षीय मनवहादुर बोहोरा दुई भाइसहित बस्दै आउनुभएको छ । दुई भाइका दुई छोरा सरकारी सेवामा रोजगार छन् । उहाँका एक–एक छोराबाट ६ भाइ नाति एक नातिनी गरी सात जना हुनुहुन्छ । 

बोहोरा परिवार पाँच पुस्तादेखि सगोलमा बस्दै आएको छ । बाजेका तीन भाइ सँगै बस्नुभयो । माइला बाजे भाउसिंह बोहोराबाट एक छोरा क्रमसिंह बोहोरा जन्मिनुभयो । शिक्षक पेसाबाट अवकाश प्राप्त मनबहादुर बोहोराले आफ्नो बुवाबाट (आफु माइलो छोरा) तीन भाइ छोरा जन्मेको र कान्छा भाइको २३ वर्षको उमेरमा निधन भएपछि जेठा दाइ धनजित बोहोरा र आफू सगोलमा रहेको उहाँले सुनाउनुभयो । 

‘बाजे भाउसिंह बोहोरा, बुवा क्रमसिंह बोहोरा, हामी धनजित र मनबहादुर बोहोरा गरी तीन पुस्ता भयाैं । हाम्रा छोराहरु खगेन्द्रबहादुर बाेहोरा र योगेन्द्रबहादुर बोहोरा गरी चार पुस्ता भए । पाँचौँ पुस्तामा नातिहरु छन्’ उहाँले भन्नुभयो, “नातिलाई पनि आफ्नो विरासत नतोड्न सुझाइरहेका छौं । भाइ नातिलाई पनि चाडपर्वका बेला घर आएको मौकामा सबै संँगै बस्न भन्ने गरेका छौं ।”  

मनबहादुरले आफ्नो परिवारबारे बेलिबिस्तार गर्दै भन्नुभयो, “ऊ बेला पढ्ने र पढाउने कमै चलन थियो । आफू जाजरकोटको सदरमुकाम खलङ्गा पढ्ने, दाइ धनजित बाेहोरा गाउँबाट चामल दाल, नुन सबै बोकेर पुर्‍य ाइदिनुहुन्थ्यो । दाईको मप्रतिको माया, लगानीले मलाई दाइको परिवारबाट अलग हुने मनै लागेन ।” 

अझै पनि आफ्ना जिम्मेवारी पूरा गरेको बोहोरा दाजुभाइको भनाइ छ । “दाईले घरमा भैसीलाई घाँसपात गर्नुहुन्छ म काउलीमा सानो ब्यापार गरेर बस्छु । दुई छोराका दुई बुहारी दिदीबहिनी मिलेर घर चलाउँछन् । दाईको छोरा शिक्षक र मेरो छोरा गाउँपालिकामा जागिरे छन्” उहाँले थप्नुभयो, “हाम्रा छोरीहरु विवाह गरेर गए पनि सबै सरकारी सेवामा रोजगार छन् ।”