• १३ साउन २०८१, आइतबार

आँखा उपचार केन्द्र दोभानको भवन निर्माण

blog

मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा दोभानमा निर्माण गरिएको आँखा उपचार केन्द्र भवन । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २६ गते ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ । दुई वर्षअघि नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाले सञ्चालनमा ल्याएको दोभान आँखा उपचार केन्द्रको भवन निर्माण गरिएको हो ।

कोशी प्रदेश सरकारको बजेटबाट आँखा उपचार केन्द्र भवन निर्माण गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका सभापति राजकुमार गुरुङले बताउनुभयो । उहाँका अनुसार सहरी विकास तथा भवन कार्यालय इलाममार्फत भ्याटसहित कुल ९७ लाख ८१ हजार १०६ रुपियाँको लागतमा भवन निर्माण गरिएको हो ।

उक्त बजेटबाट पपया कन्स्ट्रक्सन फुङ्लिङ, ताप्लेजुङले निर्माणको काम सम्पन्न गरी निर्माण कम्पनीका तर्फबाट बिहीबार नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखालाई हस्तान्तरण भएको छ । दोभान आँखा उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) र नेत्रज्योति सङ्घ शाखाका पदाधिकारीको उपस्थितिमा निर्माण कम्पनीले भवन हस्तान्तरण गरेको हो ।

नेपाल नेत्रज्योति सङ्घ शाखा सभापति गुरुङका अनुसार दुईतले नवनिर्मित भवनमा पाँचवटा कोठा छन् । भवन निर्माण सम्पन्न भएसँगै हस्तान्तरण भएपछि औपचारिक उद्घाटन गरी नवनिर्मित भवनबाटै आँखा उपचार केन्द्रको सेवा सुरु गर्ने योजना रहेको गुरुङले जानकारी दिनुभयो ।

दोभान बजारमा मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको केही बजेट सहयोगबाट दुई वर्ष अघिदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । नेत्रज्योति सङ्घले दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएपछि उक्त दुई गाउँपालिकासहित त्यस क्षेत्रको मैवाखोला र मिक्वाखोला गाउँपालिकाका बासिन्दाले सेवा पाउँदै आएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ शाखाद्वारा सञ्चालित सदरमुकाम फुङ्लिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र छ । ताप्लेजुङ शाखाकै अगुवाइमा पाँचथरको कुम्मायक गाउँपालिकाको प्रशासकीय केन्द्र यासोक र याङ्वरक गाउँपालिकाको प्रशासकीय केन्द्र थर्पुमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।