• ११ मंसिर २०८१, मङ्गलबार

लोकतन्त्रका पहरेदार

blog

युगले मानिसलाई जन्माउँदो रहेछ । हाम्रो मुलुकमा यस्ता धेरै महापुरुष जन्मिए, जसले केही न केही सद्गुण समाजलाई दिएर गए । जिउँदो छँदा ती व्यक्तिको विशिष्ट पहिचान थाहा हुँदैन, मृत्युपछि गुणगान गाउँछौँ । यो नेपाली समाजको विशेषता हो । नेपाली धर्तीमा समाज परिवर्तन गर्नका लागि राजनीतिक, सामाजिक, आर्थिक, साहित्यिक तथा साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान दिएका धेरै व्यक्तिको जन्म भयो । राजनीतिक क्षेत्रमा प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा समाजवादी चिन्तनका शिखर पुरुष बिपी कोइराला, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई केही उदाहरण हुन् । 

बिपी कोइरालाको जीवनी र विचारबाट दीक्षित व्यक्तित्वको नाम हो– सुशील कोइराला । सुशील कोइराला आफैँमा एउटा राजनीतिक आदर्श हो । सबैका लागि अध्ययन गर्न लायक खुला पुस्तक हो । जीवनको सूक्ष्म ढङ्गले अध्ययन गर्ने हो भने आर्थिक क्षेत्रबाहेक धेरै क्षेत्रमा उहाँ जानकार हुनुहुन्छ । सच्चा कलाप्रेमी पनि हुनुहुन्छ । राजनीतिकर्मीले उहाँलाई विविध कोणबाट हेर्ने गर्दछन् । कसैले उहाँलाई कृष्णप्रसाद भट्टराईपछिको नेपाली कांग्रेसको सन्त नेताका रूपमा हेर्ने गर्दछन् । कसैले कम बोल्ने तर राजनीतिक गोटी चलाउन सिपालु व्यक्तिका रूपमा लिन्छन् भने धेरैले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गराउनमा महत्वपूर्ण भूमिका खेल्ने सिपालु नेताका रूपमा चिन्छन् । उहाँ प्रधानमन्त्री रहँदा २०७२ साल असोज ३ गते देशमा नेपालको संविधान जारी भएको थियो । 

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि बाँकेबाट उहाँ तीन पटक चुनिनु भयो । २०७० सालको चुनावमा संविधान सभाका लागि उहाँ विजयी पनि हुनु भयो । उहाँ प्रधानमन्त्री बन्नुपूर्व तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । डा. भट्टराईको कार्यकालमा संविधान सभाले संविधान निर्माण गर्न सकेन । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको राजनीतिक छविका कारण नेपाली कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्री बन्नु भयो र देशमा संविधान जारी भयो । सो संविधान सर्वस्वीकार्य भने बन्न सकेन । तराईवादी केही दलले यसको विरोध गरे । संविधान जारी भएको केही वर्षपछि तराईवादी सबै राजनीतिक दलले चुनावमा भाग लिएर लोकतान्त्रिक मूल्यमान्यताको कदर गरे । 

उहाँले बिहे गर्नुभएन । उहाँलाई राजनीतिकर्मीहरूले “राजनीतिक ब्रह्मचारी र सुशील दा” भनेर सम्मानका साथ सम्बोधन गर्थे । हुन पनि दारीजुँगा पालिरहने एक धवल पुरुष देखिनुहुन्थ्यो सुशील कोइराला । विराटनगरबाट आफ्ना पिताजीको जागिरसँगै नेपालगन्ज बस्न पुग्नुभएका कोइरालालाई त्यसबेलाको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको नेपाली कांग्रेसको भरपर्दो नेताका रूपमा लिइने गरिन्थ्यो । कांग्रेस नेता खुमबहादुर खड्काले एक कार्यक्रममा भन्नुभएको याद आउँछ । नेता खड्काले भन्नुभएको थियो, “जसरी सुदूरपश्चिममा राजनीतिक कमान्डरको भूमिका शेरबहादुरजीले निर्वाह गर्नुभएको छ, यस क्षेत्रको भूमिका सुशील कोइरालाले त्यसै गरी निर्वाह गर्नु पर्छ आउँदा दिनहरूमा ।” यो भनाइ कतिपयलाई चित्त बुझेको थिएन तर उहाँको इमानदारी, सरल जीवन पद्धति र राजनीतिक चेतका कारण त्यसबेला त्यस क्षेत्रका उहाँ अभिभावक नै हुनुहुन्थ्यो ।

विसं २०४८ को संसदीय चुनावपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नु भयो । यो चुनावमा बाँकेबाट सुशील कोइराला पनि निर्वाचित हुनुभएको थियो । त्यसबेला मन्त्री पदका लागि उहाँले इच्छा राख्न सक्नु हुन्थ्यो तर पदप्रति उहाँ लोभिनु भएन । बरु नेपालगन्जको सडक, पिउने पानी, सिँचाइ, स्वास्थ्य सेवा र शिक्षाको विकासका लागि काम गर्न थाल्नु भयो । उहँको काठमाडौँमा निजी घर थिएन । उहाँ भान्जाको घरमा बस्नु हुन्थ्यो । २०४८ सालको चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो तर उसले आफ्नो अस्तित्व बुझ्नै सकेन । विजयी सांसद विभाजित भए । अनि आफ्नै सरकार बचाउन नसक्दा देशले राजनीतिक दुर्घटना बेहोर्नुप¥यो । २०५१ सालको मध्यावधिबाट नै राष्ट्रमा विग्रहको बीजारोपण भयो । केन्द्रदेखि गाउँस्तरसम्म कांग्रेसमा विभाजनका प्रस्ट रेखा कोरिए ।

सर्वमान्य नेता गणेशमान सिंह र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबिच राजनीतिक कटुता देखा प¥यो । गणेशमान सिंह, जगन्नाथ आचार्यसहितको समूहले ‘जनजागरण अभियान’ सञ्चालन गर्दा मध्यावधि निर्वाचनमा पार्टीले ठुलै नोक्सानी बेहोर्नु प¥यो । २०५१ को मध्यावधि चुनावमा सुशील कोइरालालगायत कांग्रेसी हस्तीहरूले पनि हार बेहोर्नुप¥यो । सामान्य बहुमतका आधारमा नेकपा एमालेले सरकारको नेतृत्व ग¥यो । सो पार्टीका अध्यक्ष मनमोहन अधिकारी नौ महिना प्रधानमन्त्री बन्नु भयो । देशमा बामपन्थी सरकारको सुरुवात उहाँकै पालामा भएको थियो ।

विसं २०१५ को संसदीय चुनावमा दुई तिहाइ सिट ल्याएर प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुग्नुभएका बिपी कोइरालाको १६ महिने छोटो अवधिमा देशमा धेरै सुधारका काम भए । बिपीको कार्यशैलीको चौतर्फी प्रशंसा बटुलेको कांग्रेस पार्टीप्रति जनतामा ठुलो भरोसा थियो । देशका हरेक आन्दोलनको सफल नेतृत्व गरेको कारण र कांग्रेसको राष्ट्र र जनताप्रतिको समाजवादी व्यवहारबाट नेपाली जनता प्रभावित थिए । यिनै विविध अवस्था बुझेर इमानदारी नै हाम्रो राजनीतिक धर्म हो, यसलाई बचाइराख्नु पर्छ भन्ने गर्नुहुन्थ्यो सुशील कोइराला । यिनै कारणले २०५६ सालको आमचुनावमा पनि पूर्ण बहुमत ल्याएर नेपाली कांगे्रसले सरकार सञ्चालन ग¥यो । २०५६ सालमा सन्त नेता कृष्णप्रसाद भट्टराई देशका प्रधानमन्त्री बन्नुभएको थियो । 

विसं २०५० देखि २०५६ सम्म देशको राजनीतिक अवस्थालाई सङ्क्रमणकालीन अवस्थाका रूपमा लिन सकिन्छ । राजनीतिक अस्थिरता त्यसबेला प्रशस्तै देखिए । पञ्चायतकालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा संसदीय शासनकालमा पनि प्रधानमन्त्री बन्न सफल भए । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र युद्ध सुरु ग¥यो । माओवादी पार्टीले सुरु गरेको हतियारसहितको युद्ध रोक्न माओवादीलाई शान्तिवार्तामा बोलाउन कांग्रेस पार्टीलगायत अरू राजनीतिक दलले पहल गर्नु पर्छ, देशमा क्षति हुन दिनु हुँदैन, माओवादीलाई शान्ति मार्गमा हिँडाउनु पर्छ, यसको नेतृत्व कांग्रेस पार्टीले गर्नु पर्छ भन्ने विचार अहिंसावादी नेता सुशील कोइरालाले सदैव राख्दै आउनुभएको थियो । विद्रोही माओवादीसँग शान्तिवार्ता गर्न हरबखत उहाँ शीर्ष नेतालाई भनिरहनु हुन्थ्यो । 

पार्टीमा महामन्त्री हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुभएका सुशील कोइराला नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित हुनुभयो । पिता बोधप्रसाद कोइराला र माता कुमुदिनी कोइरालाका सन्तानका रूपमा १९९६ साल साउन २८ गते विराटनगरमा उहाँको जन्म भएको थियो । बिपी कोइराला र अन्य नेताहरूसँगै उहाँले बनारसमा निर्वासित जीवन बिताउन बाध्य हुनु प¥यो । बिपीलाई आफ्ना राजनीतिक गुरु मान्ने उहाँ २०३६ साल जेठ १० गते तत्कालीन राजा वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गरेपछि बिपीसँगै बहुदलको प्रचार गर्न देशका धेरै जिल्लामा पुग्नुभएको थियो । २०७० साल माघमा नेपाली कांग्रेस संसदीय दलको नेतामा उहाँ चुनिनु भयो । उहाँ २०७० साल माघ २७ देखि २०७२ साल असोज २३ सम्म देशको ३७ औँ प्रधानमन्त्री बन्नुभएको थियो । संविधान लागु भएको चार महिनापछि अर्थात् २०७२ साल माघ २६ गते उहाँको महाराजगन्जस्थित निवासमा निधन भयो । 

सन्त नेता कृष्णप्रसाद भट्टराईको निधन हुँदा पशुपति आर्यघाटमा पत्रकारसामु प्रतिक्रिया दिँदै सुशील कोइरालाले भन्नुभएको थियो, “एउटा स्वर्णिम युगको अन्त्य भएको छ, प्रत्येक कांगे्रसजनले राष्ट्रका लागि इमानदार भएर प्रजातन्त्र र लोकतन्त्र बचाउनु पर्छ ।” यो प्रतिक्रिया दिएको हिजो जस्तै लाग्छ । उहाँसँग जोडिएका धेरै प्रसङ्ग छन्, जुन यहाँ सबै उल्लेख गर्न सम्भव छैन, जसमध्ये दुई/तीन वटा स्मरण यहाँ उल्लेख गर्छु । 

विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन सफल भएपछि २०६३ वैशाख १४ गते काठमाडौँको खुलामञ्चमा त्यसबेलाका सात राजनीतिक दलले आमसभाको आयोजना गरे । कांग्रेस पार्टीका तर्फबाट सभापति गिरिजाप्रसाद कोइरालाले सम्बोधन गर्ने पालो थियो । बिरामी परेका कारण उहाँ आउन सक्नुभएन । सुशील कोइरालाले बोल्न खोज्नुभएको मात्र के थियो, हजाराैँ जनसमुदायले उहाँको विरोध मात्र गरेनन्, मञ्चमै सिसा, पानीका बोतल बर्साउन थाले । मञ्चमा आसीन नेताको भागाभाग भयो । मञ्चतिर भिड आउन लागेको देखेर कार्यक्रम सञ्चालकले यो पङ्क्तिकारलाई जनसमुदायलाई शान्त पार्न बोलाए । मञ्चमा गएर आन्दोलन सफल पार्ने सबैको साझा देउडा गीत ‘झ्याम्म झ्याम्म’ गाउन सुरु ग¥यौँ । आक्रोशित भिड बिस्तारै मनोरञ्जनतिर ढल्क्यो र सबै जना झ्याम्म झ्याम्म देउडा गीत गाउन थाले । त्यसपछि डोकोले मुख छोपेर कवि अर्जुन पराजुलीले व्यङ्ग्य कविता सुनाउनु भयो । यसरी भिड शान्त भयो । भोलिपल्ट पङ्क्तिकारलाई सुशील कोइरालाले बोलाएर धन्यवाद दिनुभएको थियो । 

सुदूरपश्चिम र कर्णाली प्रदेशको सांस्कृतिक जागरण फैलाउने क्रममा २०४८ सालदेखि २०५६ सालसम्म पहाडी जिल्लाका साथै नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका बस्तीहरूमा देउडा गीति क्यासेट बोकेर बजार विस्तार गर्न गइरहन्थेँ । नेपालगन्जमा सुशील कोइरालासँग भेट हुने गथ्र्यो । भेटका क्रममा जसरी देउडा संस्कृतिको उत्थान गर्नुभयो, त्यसै गरी अबध संस्कृतिको पनि प्रचारप्रसार गरिदिनुहोला भन्नुभएको थियो । 

२०७० सालताका थलीमा काठमाडौँ कांग्रेसले आयोजना गरेको भेलामा उहाँले २००७ सालमा रानु देवीले गाएको क्रान्तिकारी गीत हुबहु मञ्चमा सुनाउँदा धेरैले सुशील कोइराला त राम्रो गायक पो हुनुहुँदो रहेछ भनेका थिए । सोही समारोहमा देउडा गीत गाउँदा उहाँले पनि स्वर मिसाउनु भएको सम्झना छ । 

यसरी नियाल्दा सुशील कोइरालाको जिन्दगी बडो अनौठो लाग्दो थियो । कांग्रेसका केही व्यक्तिले उहाँलाई केही सीमित व्यक्तिको मात्र नेता हुन् भन्ने गरेको भाष्य गलत थियो । नजिकमा पर्ने जो कोहीलाई उहाँले माया गर्ने, सदैव पार्टीका गतिविधिबारे चासो राख्ने एक सकारात्मक सोच भएको नेता हुनुहुन्थ्यो । कार्यकर्ताका गुनासा ध्यान दिएर सुन्ने उहाँको बानी थियो । सङ्घीय राजधानी काठमाडौँमा पत्तै नपाई उहाँको मृत्यु भयो, जुन दुःखद घटना थियो । 

  

Author

नन्दकृष्ण जोशी