• ३१ वैशाख २०८१, सोमबार

पाकिस्तान आम निर्वाचन : मतदान जारी

blog

पाकिस्तानको आम निर्वाचनमा मतदान गर्दै नागरिक ।

इस्लामावाद, माघ २५ गते । पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।

कुल २६६ मध्ये एक बाहेक २६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म निर्बाधरूपमा जारी रहने बताउनुभयो ।

मतदानबाट आगामी पाँच वर्षका लागि नयाँ सरकार गठन गर्ने संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ ।

पाकिस्तानका चार प्रान्तीय सभाको निर्वाचन आज एकै दिन भइरहेको छ ।

आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन् ।

देशभर ९० हजार ६७५  मतदान केन्द्र स्थापना गरिएको छ भने आयोग, सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावको लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ ।

कुल २६५ सिटका लागि हुने राष्ट्रिय निर्वाचनका लागि छ हजारभन्दा बढी उम्मेदवार रहेका र खैबर पख्तुनख्वा, पन्जाब, बलुचिस्तान र सिन्धसहित चार प्रान्तका लागि ५९० वटा  सिटमा १२ हजारभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने घोषणा आयोगले गरेको छ ।

उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ । रासस/सिन्ह्वा