ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, माघ २५ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरीको अधिकार क्षेत्रप्रति प्रतिबद्ध भएर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी प्रमुख जिम्मेवारी पाएपछि पहिलो पटक ताप्लेजुङ आउनुभएका प्रहरी नायव महानिरीक्षक खापुङले स्थानीय पत्रकारसँगको भेटमा प्रहरीको जिम्मेवारी अनुसारको अधिकारलाई इमानदारीका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरीप्रति जनताको ठुलो आशा र अपेक्षा रहेकाले शान्तिसुरक्षा दिलाउने कार्यमा कुनै सम्झौता गर्न नहुने उहाँको भनाइ छ । उहाँले तोकिएको अधिकार र जिम्मेवारी अनुसार प्रतिबद्ध भएर काम गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा व्यवस्थालाई बलियो बनाउने कार्यमा सबै पक्षसँग आवश्यक सहकार्य गरेर जिम्मेवारी बहन गर्नु पर्छ ।” प्रहरी नायब महानिरीक्षक खापुङले पाथीभरामा निर्माण प्रस्ताव गरिएको केबुलकार परियोजनाप्रति देखिएको मतभेद आपसी समन्वयबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रहरी जनशक्ति अभावलाई तत्काल व्यवस्थापन हुने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।