• १४ मंसिर २०८१, शुक्रबार

वितरण गरिँदै पैँतीस हजार पुर्जा

blog

बुटवल समाचारदाता

बुटवल, माघ २५ गते । रुपन्देही जिल्लामा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय भूमि आयोग रुपन्देहीले जिल्लामा एक लाख २० हजार अव्यवस्थित र सुकुमवासी परिवार रहेको जनाएको छ । भूमि आयोग रुपन्देहीले जिल्लामा जग्गा नापजाँचको काम गर्दै आएको र त्यसक्रममा ३५ हजार जग्गाधनी पुर्जा वितरणका लागि तयारी अवस्थामा रहेको जनाएको हो ।  आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जिल्लाका केही पालिकामा सुकुमवासी र अव्यवस्थित बसोबासी गरी करिब पाँच हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिसकेको बताउनुभयो । 

बुटवल उपमहानगरपालिका–१४, कैलाशनगरमा जग्गा नापजाँचको कामको सुरुवातका अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले अव्यवस्थित बसोबासीका लागि लालपुर्जाबापतको राजस्व धेरै भएको गुनासो आएकाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएको बताउँदै शुद्धोधन र कञ्चन गाउँपालिकामा पनि लालपुर्जा वितरणको तयारी भइरहेको जानकारी दिनुभयो । 

पुर्जाको राजस्व कम भएको अवस्थामा अहिलेसम्म तयार भएका सबै ३५ हजार लालपुर्जा वितरण भइसक्ने बताउँदै अध्यक्ष क्षेत्रीले पुर्जा लिन बोलाउँदा पनि राजस्वका कारण नआउने अवस्था देखिएको बताउनुभयो । यसैबिच बुटवल उपमहानगरपालिका–१४, कैलाशनगरमा जग्गा नापजाँचको काम सुरु भएको छ । नापजाँचको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपुर्जाविहीन क्षेत्रको नापजाँच गरी लालपुर्जा वितरण गर्न पालिकाले सबै प्रकारको सहयोग गर्ने बताउनुभयो । उहाँले नापजाँचमा बुटवल उपमहानगरपालिकाले २५ जना कर्मचारी खटाएको बताउँदै नापजाँच गर्ने कर्मचारी र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले अव्यवस्थित बसोबासीको पुर्जाबापत लिइने राजस्व रकम धेरै भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको बताउँदै राजस्व रकम घट्ने विश्वास व्यक्त गर्नुभयो । 

बुटवल वडा नं. १४ का अध्यक्ष दधिराम न्यौपानेले नापजाँच भएको जग्गाको पुर्जा वितरणलाई प्राथमिकतामा राख्न भूमि आयोगसँग आग्रह गर्नुभयो । यसअघि दुई साताअघि रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो । सियारी–७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति रुपन्देहीको आयोजना एवं सियारी गाउँपालिका रुपन्देहीको समन्वय तथा सहजीकरणमा दुई सय ५० परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले निर्वाचित भएको एक वर्ष नहुँदै सियारीमा जग्गा नापजाँचको काम सुरु गरी वडा नम्बर १ देखि ७ सम्म आयोगले तोकेको सीमाभित्र रहेर अहिले पुर्जा वितरण गर्न सफल भएको बताउनुभयो ।