हुम्ला समाचारदाता
हुम्ला, माघ २५ गते । जिल्लाकै दुर्गम गाउँमा पर्ने नेप्का गाउँका घरको स्वरूप नै फेरिएको छ । त्यहाँका माटाका छाना विस्थापित भएका छन् । स्थानीयको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको जडीबुटीको कारण दुर्गमको नेप्का गाउँको स्वरूप नै फेरिएको हो ।
चङ्खेली गाउँपालिका–५ को नेप्का गाउँकी स्थानीय जानकी तामाङले सिङ्गो गाउँमा रहेका पुस्तौँ पुराना माटाको छाना विस्थापित भएको बताउनुभयो । उहाँले जडीबुटीका कारण स्थानीयको आम्दानीको स्रोतमा वृद्धि भएपछि सबैले आफ्ना घरको माटाका छाना हटाएर जस्तापाता छाएको जानकारी दिनुभयो ।
उक्त गाउँका स्थानीयले वर्षमा कम्तीमा पनि चार लाख रुपियाँ जडीबुटीबाट कमाउने गरेका छन् । तामाङले सडक सञ्जाल नजोडिएको नेप्कागाउँमा जस्तापाता भने गाउँपालिका केन्द्र पिप्लाङबाट मानिस वा खच्चडले बोकेर ल्याउने गरेको बताउनुभयो । पहिले पुस्तौँ पुराना माटाको छानो भएका घर देखिने गरेको भए पनि तीन वर्षयता सबै स्थानीयले त्यसलाई विस्थापित गरेर जस्तापाता छाइसकेका छन् । जस्तापाताले घर छाएपछि बर्खामा पानी चुहिने र हिउँदमा छतको हिउँ फाल्ने समस्याबाट स्थानीयले छुटकारा पाएका छन् ।
नेप्कागाउँमा ६० भन्दा बढी घरधुरी छन् । गाउँका वडाध्यक्ष हर्कधन तामाङले जस्तापाताले छाएका घर देखिन थालेपछि गाउँको स्वरूप नै फेरिएको बताउनुभयो । उहाँ सबै माटाको छानो भएका घर विस्थापित भएपछि आफ्नो मौलिकता हराउने चिन्ता भने देखिएको छ ।
केही समयअगाडिसम्म सल्लोको दियालो बाल्ने नेप्कागाउँमा हाल स्थानीयस्तरमा विद्युत् उत्पादन गरी बत्ती बाल्न पाएका छन् । नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चार सम्पर्क पनि सहज गराएको छ । गाउँमा स्वास्थ्य संस्था, खानेपानी पनि निर्माण भएपछि सुविधा सबै पुगेको छ तर हालसम्म सडक सञ्जाल भने जोडिन सकेको छैन ।