बुलबुले समाचारदाता
सुर्खेत, माघ २५ गते । निर्माणाधीन भेरी कोरिडोर अन्तर्गतका सडक निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम अघि बढाउन समस्या भएको हो । कोरिडोर अन्तर्गतका विभिन्न खण्डमा सडक स्तरोन्नतिका काम भइरहेका छन् । दु्रत गतिमा काम अगाडि बढिरहेको भए पनि छिन्चु–जाजरकोट सडक स्तरोन्नतिका लागि बजेट अभाव भएको हो ।
चालु आर्थिक वर्षबाट सडक स्तरोन्नतिको काम थालिएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार भेरीगङ्गा नगरपालिकाको साँधी खोलादेखि गुर्भाकोट नगरपालिकाको पोखरेसम्म २० किलोमिटर सडक निर्माण थालिएको हो । सडक स्तरोन्नतिका लागि २०८० वैशाख ५ गते केएस कन्स्ट्रक्सन कैलालीसँग ठेक्का सम्झौता गरिएको छ । ७९ करोड ७८ लाखमा सम्झौता गरिएको हो ।
सम्झौता अनुसार २०८३ वैशाख ४ गतेसम्म निर्माण गरिसक्नुपर्ने उल्लेख छ । चालु आर्थिक वर्षमा सरकारले न्यून बजेट विनियोजन गरेको छ । तीन करोड ७५ लाख मात्र विनियोजन गरिएको छ । यसअघि नै तीन करोड खर्च भइसकेको छ । हालसम्म करिब सात करोडको काम भइसकेको कार्यालयले जनाएको छ तर बजेट न्यून हुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन समस्या भएको कार्यालयका सूचना अधिकारी टोपनाराण पौडेलले बताउनुभयो । उहाँका अनुसार काम सुरु भएको १० महिनाको अवधिमा करिब सात करोडको काम भएको छ । अहिलेसम्म तीन करोड मात्र भुक्तानी भएको छ । निर्माण व्यवसायीलाई काम गरेबापतको भुक्तानी दिन नसक्दा सडक निर्माणको काम नै रोक्नुपर्ने अवस्था आएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
भेरी कोरिडोर अन्तर्गत छिन्चु–जाजरकोट सडकखण्डमा पक्की नाला निर्माण, टेवा पर्खाल निर्माणको काम भइरहेको छ तर अर्थ मन्त्रालयले थप बजेट नदिएकाले काम रोकिने अवस्थामा पुगेको कार्यालयका सूचना अधिकारी पौडेल बताउनुहुन्छ । अर्थ मन्त्रालयसँग थप बजेट माग गरिएको उहाँको भनाइ छ । निर्माण कम्पनीले काम गर्छुभन्दा पनि बजेट अभावले काम अघि बढाउन समस्या भएको उहाँले बताउनुभयो ।
कोरिडोर निर्माण भएमा तिब्बतको मरिम्ला र भारतको रुपैडिहाबिच सिधा सम्पर्क जोडिने छ । जाजरकोट, रुकुम र डोल्पाको भूगोललाई राष्ट्रिय राजमार्गमा जोड्ने अवधारणा अनुरूप निर्माण कार्य अघि बढाइएको हो । सडक निर्माणले डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले बजार र उचित मूल्य पाउने अपेक्षा गरिएको छ । रुकुमको चौरजहारी र जाजरकोट सदरमुकामलाई २०६५ मा सडक सञ्जालसँग जोडेसँगै जाजरकोट–डोल्पा सडक निर्माणको काम सुरु भएको थियो । सडक निर्माण थालिएको डेढ दशक पुगेको छ । सडक निर्माणको काम तीन वटा कार्यालयले छुट्टाछुट्टै रूपमा गरिरहेका छन् । त्यसमध्ये सडक डिभिजन कार्यालय सुर्खेतले छिन्चुदेखि छेडासम्म ६९ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ ।
यसैबिच निर्वाचन क्षेत्र रणनीतिक सडक स्तरोन्नतिका लागि पनि बजेट अभाव भएको छ । पश्चिम सुर्खेतमा निर्माण भइरहेको खम्बागाडे–बाबियाचौर–गुटु सडक निर्माणका लागि बजेट अभाव भएको हो । २०७८ चैत २४ गतेदेखि उक्त सडक स्तरोन्नतिको काम थालिएको थियो । भीमेश्वर खड्का जेभी नेपालगन्जसँग सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का सम्झौता गरी काम अघि बढाएको हो । १० किलोमिटर सडक निर्माणका लागि काम अघि बढेको छ ।
२०८१ वैशाख ४ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो । १८ करोड ९० लाखमा कामको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । हालसम्म ४० प्रतिशत भौतिक प्रगति र ३० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । चालु आर्थिक वर्षमा एक करोड मात्र बजेट विनियोजन भएको छ । बजेट अभावले काम अघि बढाउन समस्या भएको कार्यालयका इन्जिनियर अशोक चौधरीले बताउनुभयो ।