• १४ फागुन २०८०, सोमबार
blog

मध्यकालीन आँधीखोलाको सभ्यताभित्र भिरकोट राज्यको स्थापना १४७५ सालदेखि १५०० सालबिचमा भएको मानिन्छ । स्याङ्जाको इतिहासमा नुवाकोट, सतौंकोट, गह्रौँकोट र भिरकोटलाई प्राचीन ऐतिहासिक किल्ला र कोट मानिएको छ । भिरकोट शीतल हावा चल्ने ठाउँमा घर, मन्दिर निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरूले राज्य चलाएको पाइन्छ । चर्चित आँधीखोला यस नगरपालिकाको बिचबाट बहन्छ । २०७९ सालको स्थानीय तहको चुनावमा नगरपालिकाको प्रमुखमा गोविन्दकुमार कर्माचार्य निर्वाचित हुनुभएको हो । नगर प्रमुख कर्माचार्यसँग गोरखापत्रका पत्रकार राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी :  

निर्वाचित भएपछि देखिने गरी के काम गर्नुभयो ? 

हामी निर्वाचित भइसकेपछि कृषि, पशुपालन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यजस्ता काममा ध्यान दिँदै आएका छौं । बयरघारी–सुन्दर बजार, ठुलीभन्‍ज्याङ–बयरघारी, बानेथोक–बिरुवा सडकखण्डको स्तरोन्‍नति गरी सात किलोमिटर जति सडक ढलान र कालोपत्रे गर्ने कार्य प्रारम्भ भएको छ । 

कलात्मक नगरपालिका प्रवेशद्वारको निर्माण, कार्यालय परिसरको स्तरोन्नति र भाग्योदय माध्यमिक विद्यालयको नमुनायोग्य विद्यालय भवन निर्माणलगायत जनताले प्रत्यक्ष देख्‍न सक्ने खालका भौतिक पूर्वाधारसँग सम्बन्धित काम गरेका छौँ । शिक्षामा गुणस्तरको सुधार, खानेपानीको उपलब्धता, कृषियोग्य फाँटको संरक्षण, आँधीखोलाको दायाँबायाँ तटबन्ध गर्ने काम प्रारम्भ भएको छ । पालिकाभित्र भौतिक पूर्वाधारका क्षेत्रमा गरिएका कतिपय कार्य तत्कालै नगरवासीले महसुस गर्ने खालका छन् भने कतिपय नतिजा देखिँदै जानेछन् । 

भिरकोटलाई बालमैत्री नगरपालिका घोषणा गर्नुभएको छ, कार्यान्वयनको भएको छ ? 

अहिलेका बालबालिका नै भविष्य हुन् भन्ने भनाइलाई पालिकाले आत्मसात् गरी बालमैत्री नगरपालिका घोषणा गरेका हौँ । तत्पश्‍चात् यसका सूचकको निरन्तरता र पूरा नभएका सूचक पूरा गर्ने काममा हामी अगाडि बढिरहेका छौँ । सीमित स्रोतसाधनबाट आवश्‍यक पर्ने बजेटको व्यवस्थापन गरी वडा तथा नगरपालिकास्तरमा बालक्लब तथा बाल सञ्जाल गठन तिनीहरूसँग निरन्तर रूपमा सहकार्य गरिरहेका छौँ । समाजमा विद्यमान बालविवाह, बालहिंसा, बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थ ओसारप्रसार नियन्त्रण र बालश्रमको नियन्त्रणका लागि पालिकाले विशेष योजना बनाएर काम गरिरहेको छ । 

पर्यटन प्रवर्धनका लागि पनि काम भएको छ ? 

नगरपालिकाभित्र छाङछाङ्दी छायाँ क्षेत्र मन्दिर, खिलुङकालिका, गडहरे गुफा, स्वरेक मैदान, देउपुजे ढुङ्गा, मुल्का वराह, कोखे झरना पर्यटकीय स्थल हुन् । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक स्थलको स्तरोन्‍नति गर्ने त्यस्ता स्थानमा जान बाटो निर्माण र सार्वजनिक सञ्चार माध्यमबाट प्रचारप्रसार गरी पर्यटनको आगमन बढाउने अभियानमा छौँ । 

कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा कसरी काम भएको छ ?

पहाडी क्षेत्र भएकाले कृषिलाई प्राथमिकतामा राख्नुको विकल्प छैन । खेतीयोग्य जमिनको संरक्षण गर्दै कृषकलाई आत्मनिर्भर बनाउन हाम्रो ध्यान गएको छ । पछिल्लो समय आएका उपयुक्त सिप र ज्ञान कृषकलाई प्रदान गर्ने, विदेशबाट फर्किएकालाई स्वदेशमा नै कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने, उनीहरूलाई उत्पादन गरेका सामग्रीको बजारीकरणमा सहयोग गर्ने काम गरिरहेका छौँ । बजारीकरणका लागि हामीले साप्ताहिक हाटबजारको व्यवस्था पनि गरिसकेका छौँ । रोजगारी सिर्जनाका लागि विभिन्न पेसा तथा व्यवसायमा आबद्ध व्यक्ति तथा समूहलाई आवश्यक पर्ने सिप तथा क्षमता विकास गरिरहेका छौँ । 

हाम्रो नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका हो । यो घोषणा गर्दैमा हुने कार्यक्रम नभएकाले यसको निरन्तरताका लागि काम गरिरहेका छौँ । स्वास्थ्य चौकी निर्माण र भिरकोट नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको प्रारम्भ गरी त्यसका लागि आवश्यक मेसिनरी तथा औषधी व्यवस्थापन गरी स्वास्थ्य सेवाको विस्तार गर्ने कार्य अगाडि बढाएका छौँ । त्यसै गरी पालिकाले शैक्षिक सुधारका लागि शिक्षक र विद्यार्थीको अनुपातका आधारमा विद्यालय व्यवस्थापनको काम गरिरहेको छ । भाग्योदय माविमा शिक्षा मन्त्रालयको नीति अनुसार नमुना भवन निर्माणको प्रक्रिया सुरु भएको छ । स्थानीय पाठ्यक्रम निर्माण भई कार्यान्वयनको चरणमा छ । 

सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय कस्तो छ ? 

नेपालको संविधानले नै अधिकारको स्पष्ट बाँडफाँट गरेको छ । तीन तहका सरकारबिच समन्वय आवश्यक देखिन्छ । पालिकाले पनि प्रदेश र सङ्घसँग मिलेर काम गरिरहेको छ । हामीसँग सीमित स्रोतसाधन हुने हुँदा उनीहरूको सहयोग अपरिहार्य छ । आपसी सहयोग र समन्वय नभए काम गर्न कठिन हुन्छ । हाम्रा समस्या हामीले बुझेर सम्बन्धित निकायसम्म पुर्‍याउने हो । पुगेका कुरा सुनुवाइ हुन् भन्ने हामीलाई लाग्छ । यस विषयमा पनि छलफल हुन्छ । अहिले बजेटको केही कमी छ । 


नगरपालिकाको विशेष पहिचान पनि बनाउँदै हुनुहुन्छ कि ? 

भिरकोट बहुपहिचानले चिनाउन सकिने सम्भावना भएको नगर हो । यहाँ रहेका धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र पालिकाका पहिचानका आधार हुन् । पालिका बस्ने गुरुङ समुदायको संस्कृति र तिनीहरूबाट सञ्चालित घरबास पर्यटन (होमस्टे) पनि उल्लेखनीय छ । ऐतिहासिक महत्वका रूपमा रहेको भिरकोट दरबार, प्राकृतिक सौन्दर्यका रूपमा रहेको सुन्दरचौर वनस्पति केन्द्र, खेतीयोग्य जमिन हाम्रो नगरपालिकाको पहिचानका रूपमा रहेका छन् । यिनै पहिचान बोकेका क्षेत्रको विकास गरेर योजनाबद्ध रूपमा त्यस्ता स्थलमा पुग्न सहज पहुँचमार्गको निर्माण र अन्य आवश्यक संरचनाको निर्माण गर्नुपर्ने देखेको छु ।