• ११ मंसिर २०८१, मङ्गलबार

लोक सभा चुनावमा राम मन्दिर

blog

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक मुलुक भारतमा आउँदो मेमा लोक सभाका लागि आमनिर्वाचन हुँदै छ । आमनिर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र प्रतिपक्षी कङ्ग्रेस (आई) सहितको २८ दलीय ‘इन्डिया’ गठबन्धनबिच मुख्य प्रतिस्पर्धा हुने छ । भाजपा तेस्रो कार्यकालका लागि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै नेतृत्वमा चुनावी मैदानमा उत्रने भएको छ । दुई कार्यकालको सफलताले मोदीलाई तेस्रो कार्यकाल सहज हुने देखिएको छ । मोदीसँग प्रतिस्पर्धा गर्न कठिन भएर नै कङ्ग्रेस (आई) का नेता राहुल गान्धीले २८ दलीय गठबन्धन बनाउनुभएको हो तैपनि यो गठबन्धनलाई चुनाव जित्न सजिलो भने छैन । 

सयौँ वर्षदेखि अयोध्याको बाबरी मस्जिद विवाद समाधान गरी त्यस स्थानमा भगवान् रामको भव्य मन्दिर बनाउन सफल प्रधानमन्त्री मोदीको लोकप्रियता झन् बढेको छ । यो सफलताको श्रेय नै मोदी हुनुभएकाले करोडौँ हिन्दु उहाँप्रति आभारी छन् । गएको जनवरी २२ मा भव्य समारोहबिच मोदीले राम मन्दिरमा प्राणप्रतिष्ठा गर्नुभयो । भारतको आधुनिक इतिहासकै यो महत्वपूर्ण क्षण थियो । आउँदो पुस्ताका लागि पनि यो अविस्मरणीय क्षण हुने छ । राम मन्दिर बनाएकै कारण पनि मोदीलाई आउँदो चुनाव झन् सहज बन्दै छ । उहाँले गर्दा राम मन्दिर पनि लोक सभा चुनावसँग जोडिन पुगेको छ । 

भगवान् रामको जन्मस्थानमा रहेको राम मन्दिर भत्काएर मुस्लिम सम्राट् बाबरले सन् १५२८ मा त्यहाँ बाबरी मस्जिद बनाएसँगै भारतमा धार्मिक विवाद सुरु भएको थियो । सन् १९९२ मा विश्व हिन्दु परिषद्, शिवसेना र भारतीय जनता पार्टीका समर्थकले बाबरी मस्जिद ध्वस्त पारिदिएपछि यो विवाद अदालतमा पुग्यो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउने र बाबरी मस्जिद बनाउन अर्को स्थानमा जमिन दिन फैसला गरेपछि सन् २०२० को अगस्त ५ मा प्रधानमन्त्री मोदीले त्यहाँ राम मन्दिरको शिलान्यास गर्नुभएको थियो । २१ करोड ७० लाख डलर खर्चेर बनाइँदै गरेको यो मन्दिरको पूरा निर्माण भने आउँदो वर्ष सम्पन्न हुने छ । 

स्टिल र फलाम प्रयोग नगरी मौलिक शैलीको यो भव्य मन्दिर भारतलगायत विश्वभरका हिन्दुका लागि ठुलो तीर्थस्थल बन्दै छ । यो मन्दिर बनाएर मोदीले सबै हिन्दुको मन जित्नुभएको छ । यो मन्दिरलाई चुनावी मुद्दा बनाएको भनी विपक्षीले आरोप लगाएका छन् तर यसमा ठुलो दम भने देखिँदैन । अर्कोतर्फ केही समयपहिले सम्पन्न विधान सभा चुनावले भाजपालाई थप उत्साहित बनाएको छ भने कङ्ग्रेस (आई) को जनाधार झन् खस्केको देखिएको छ । प्रधानमन्त्री मोदीले सबैका लागि पक्की घर बनाइदिने, हरेक नागरिकलाई लखपति बनाउने, गरिबलाई निःशुल्क रासनको व्यवस्था र पाँच लाखसम्म निःशुल्क उपचारको व्यवस्था गर्ने कुरा आफ्नो भाषणका क्रममा जोडतोडका साथ उठाउनुभयो । 

कर्नाटक, हिमाञ्चल, राजस्थान, मध्य प्रदेश, छत्तिसगढ राज्यको चुनावी अभियानमा उहाँको भाषणले सार्थकता पायो । निकै प्रतिस्पर्धात्मक भनिएको राजस्थानमा भाजपाले ११५ सिट जित्दा कङ्ग्रेस (आई) ६९ सिटमै रोकिएको थियो । त्यस्तै मध्य प्रदेशमा पनि भाजपाले अप्रत्यासित नतिजा ल्यायो । भाजपा १६३ सिटमा विजयी हुँदा कङ्ग्रेस (आई) ६६ सिटमा खुम्चियो । छत्तिसगढमा भाजपाले ५४ सिट जित्दा कङ्ग्रेस (आई) ३५ सिटमा सीमित भयो । विधान सभाको पछिल्लो निर्वाचन परिणामले के देखाएको छ भने जनताले मोदी नेतृत्वको स्थिर सरकारलाई विश्वास गरेका छन् । 

विधान सभामा देखिएको भाजपा लहरले मोदी तेस्रो कार्यकाल सत्तामा रहिरहने लगभग निश्चित देखिएको छ । यी राज्यको नतिजाले लोक सभा चुनावको बाटो तय गर्ने छ । चुनावी नतिजाले भाजपाको मनोबल थप उच्च बनेको छ । पछिल्लो चुनावी नतिजाले भारतमा मोदीको लोकप्रियता अझै कायमै रहेको सन्देश देशभर पुगेको छ । कम्तीमा अर्को एक कार्यकाल भाजपाका लागि कङ्ग्रेस (आई) गठबन्धन र मोदीका लागि राहुल गान्धीको चुनौतीले खासै काम गर्ने अवस्था देखिँदैन । पहिलो र दोस्रो कार्यकालको तुलनामा यस पटक विपक्षीबाट केही थप चुनौतीको सामना गरिरहनुभएका मोदीको अन्तिम प्रयास भने उत्तर प्रदेशमै रहने निश्चित छ । 

लोक सभामा सबैभन्दा धेरै सदस्य रहेको राज्यको चुनावी नतिजा आफ्नो पक्षमा पार्न उहाँले आफ्ना राजनीतिक सारथि तथा राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँग मिलेर अभियान चलाउनुभएको छ । भारतमा मोदीपछिको लोकप्रिय नेता योगी हुनुहुन्छ । उहाँले केही महिनाअघि राज्यमा ‘हलाल प्रमाणित’ खाद्य पदार्थको उत्पादन, भण्डारण, वितरण र बिक्री गर्नसमेत बन्देज लगाइदिनुभयो । उहाँको यो कदम हिन्दु मतलाई एकबद्ध राख्ने प्रयासका रूपमा हेरिएको छ । यसका साथै भाजपाले आवश्यकता अनुसार कङ्ग्रेस (आई) विरुद्ध धार्मिक कार्डसमेत प्रयोग गर्दै आएको छ । उसले लामो समयदेखि कङ्ग्रेसलाई ‘हिन्दुविरोधी’ पार्टीका रूपमा चित्रित गरेको छ । सोनिया गान्धीले पार्टीको नेतृत्व लिएपछि त यसमा भाजपा सफल भएको थियो । 

‘मुड अफ द नेसन’ सर्वेक्षणले भने उत्तर प्रदेशमा भाजपाले २०१४ को नतिजा दोहो¥याउने देखाएको छ । २०१४ मा भाजपा ४९ प्रतिशत मतसहित उत्तर प्रदेशका ८० मध्ये ७२ सिटमा विजयी भएको थियो । २०१९ को लोक सभामा भने भाजपाले ६२ सिट ल्याएको थियो । गत वर्षको जुलाईमा दिल्लीस्थित प्रगति मैदानमा आइइसिसी कम्प्लेक्सको उद्घाटनका क्रममा मोदीले आफ्नो नेतृत्वको सरकारले पाँच वर्षको अवधिमा १३ करोड ५० लाख मानिसलाई गरिबीबाट माथि उठाएको दाबी गर्नुभयो । विगत नौ वर्षको अवधिमा मोदी सरकारले लिएका निर्णय र व्यावहारिक नीतिले देशलाई सही दिशातर्फ अगाडि बढाइरहेको छ । 

सन् २०१४ मा मोदीले प्रधानमन्त्रीको पद सम्हाल्दा १० औँ स्थानमा रहेको भारतको अर्थतन्त्र अहिले पाँचौँ स्थानमा आइपुगेको छ । उहाँले तेस्रो कार्यकाल चुनाव जिते तेस्रो ठुलो अर्थतन्त्र बनाउने बताउनुभएको छ । हाल अमेरिका, चीन, जर्मनी र जापान भारतभन्दा ठुला अर्थतन्त्र भएका मुलुक हुन् । मोदीको नेतृत्वमा भारतले गत सेप्टेम्बरमा ‘जी–२०’ सम्मेलनको आयोजना गरेको थियो । विश्वको दुई तिहाइ जनसङ्ख्या र ८५ प्रतिशत कुल गार्हस्थ उत्पादन समेट्ने ‘जी–२०’ देशले विश्वभर हुने व्यापारको ७५ प्रतिशत हिस्सा ओगट्छन् । उक्त सम्मेलनसँगै भारतमा ‘सम्मेलन पर्यटन’ को विकास सुरु भएको र आगामी दिनमा अझै तीव्र हुने मोदीको दाबी छ । गत वर्ष भारतलाई चन्द्रमामा पु¥याएर मोदीले अन्तरिक्ष प्रतिस्पर्धामा समेत स्थान सुरक्षित गर्नुभएको छ । 

भारतमा आगामी १० वर्षमा कम्तीमा सात करोड रोजगारी सिर्जना गर्नुपर्ने अर्थशास्त्रीहरू बताउँछन् । प्रधानमन्त्री मोदी भने तेस्रो कार्यकालमै पर्यटन क्षेत्रले मात्रै त्यसको दोब्बर अर्थात् १३ देखि १४ करोड रोजगारी सिर्जना गर्ने दाबी गर्नुभएको छ । “जब मैले यस्तो ग्यारेन्टी दिन्छु, मैले पूर्ण जिम्मेवारीसहित काम गर्छु,” मोदी भन्नुहुन्छ । सन् २०१९ को आमनिर्वाचनदेखि नै कङ्ग्रेस (आई) लाई सत्तामा फर्काउन व्रिmयाशील राहुल गान्धीको मुख्य उद्देश्य नै मोदीलाई तेस्रो कार्यकाल प्रधानमन्त्री हुनबाट रोक्नु हो । त्यसका लागि उहाँले आगामी लोक सभा चुनावमा भाजपालाई कडा चुनौती दिन क्षेत्रीय पार्टीसहितको ‘इन्डियन नेसनल डेमोक्रेटिक इन्क्लुसिभ अलायन्स (इन्डिया) गठबन्धन बनाउनुभएको छ । 

‘इन्डिया’ गठबन्धनमा हालसम्म डिएमके, एआइटिसी, जनता दल (युनाइटेड), एनसिपी, एसपीलगायतका २८ वटा पार्टी समावेश भएका छन् । खास गरी भाजपा केही कमजोर रहेका दक्षिण र पूर्वी भारतका क्षेत्रीय पार्टीहरू ‘इन्डिया’ गठबन्धनमा आबद्ध भएका छन् । यो गठबन्धनले दक्षिण र पूर्वी भारतमा भाजपालाई केही चुनौती दिनसक्छ । केही समयअघि राहुलको अगुवाइमा गरिएको ‘भारत जोडो यात्रा’ का कारण पनि कङ्ग्रेस (आई) को जनमत र राहुलको छवि केही सुधारिएको अनुमान गरिएको छ । भारतलाई एकजुट राख्ने उद्देश्यसहित कङ्ग्रेस नेता तथा कार्यकर्ताले चार हजार ८० किलोमिटर पदयात्रा गरेका थिए । १३६ दिन लामो यात्रा तमिलनाडुको कन्याकुमारीबाट सुरु भई जम्मुकस्मिर पुगेर सकिएको थियो ।

इन्डिया टुडे म्यागेजिनले गरेको सर्वेक्षणले राहुलको लोकप्रियता पछिल्लो समय केही बढे पनि त्यो सरकार गठनका लागि पर्याप्त नहुने देखाएको छ । सर्वेक्षणले तल्लो सदनका ५४२ सिटमध्ये भाजपाले कम्तीमा २८७ सिट जित्ने देखाएको छ । कङ्ग्रेस गठबन्धले भाजपाको भन्दा ३६ सिट कम ल्याउने देखिएको छ; जसको अर्थ प्रस्टै छ, अझै कम्तीमा एक कार्यकाल मोदी नै भारतको प्रधानमन्त्री बन्नुहुने छ  । वास्तवमा मोदीको दुई कार्यकालको सफलताले विश्वमै भारत नयाँ उचाइमा पुगेको छ । गुजरातको मुख्यमन्त्री बन्दा भएको हिन्दु–मुस्लिम दङ्गा रोक्न प्रभावकारी कदम नचालेको आरोप लगेका मोदीलाई १० वर्षसम्म अमेरिकाले भिसा दिएन ।

भिसा रोक्ने अमेरिकाले गत वर्ष उहाँलाई वासिङ्टनमा रातो कार्पेट बिछ्याएर भव्य स्वागत मात्र होइन, उहाँको खुलेर प्रशंसासमेत ग¥यो । अमेरिकाका राष्ट्रपति जो बाइडेनले मोदीसँग थप सहकार्यको प्रस्ताव गर्नुभयो । उहाँको भ्रमण भारत र अमेरिकाबिचको सम्बन्धमा कोसेढुङ्गा स्थापित भएको छ । अमेरिकाको भ्रमणपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको मैत्रीपूर्ण निमन्त्रणामा मोदी फ्रान्स जानुभयो । मोदीको फ्रान्स भ्रमणबाट भारत र फ्रान्सबिचको सम्बन्ध थप बलियो बन्यो । अन्तर्राष्ट्रिय कूटनीति सन्तुलनका हिसाबले पनि मोदी सफल देखिनुभएको छ । उहाँले कुनै पनि महाशक्तिको पछि नलागेर शक्ति राष्ट्रहरूलाई समदुरीमा राखेर भारतको हित हुने काम गर्नुभएको छ । 

मोदीले रुस, चीन र अमेरिकासित समदुरीको सम्बन्ध राखेर तीनै मुलुकबाट भारतलाई पर्याप्त लाभ लिने अवसर सिर्जना गर्नुभयो । चीन र रुससँग जस्तै भारतको अमेरिकासँग पनि व्यापार र लगानी बढेको छ ।  गत वर्ष भारत र अमेरिकाबिच १९० अर्ब डलरको व्यापार भएको थियो । अमेरिका अहिले भारतको ठुलो व्यापार साझेदार पनि हो । दुई देशका कम्पनीहरूले एक अर्कामा महत्वपूर्ण लगानी गरेका छन् । भारतका लागि अमेरिका उन्नत प्रविधि, शिक्षा र लगानीको आकर्षक स्रोत हो ।

भारतको स्वतन्त्र विदेश नीति सफल बन्दै गएको छ । रुस र युक्रेनबिच जारी युद्धमा भारत तटस्थ बसेको छ । पुरानो मित्र रुससँग यो अवधिमा भारतले इन्धन व्यापार गरी मनग्गे डलर कमायो । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतलाई अहिले शक्ति राष्ट्रहरूले आफ्नो बनाउन चाहेका छन् । चीन र रुससँग भारतको सम्बन्ध आफ्नो ठाउँमा छ । अहिले जापान, दक्षिण कोरिया, इजरायल, अस्ट्रेलिया, बेलायत, फ्रान्स, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिकालगायतले भारतसँग सहकार्यलाई अरू फराकिलो बनाउन चाहेका छन् । भारतका लागि यो सुनौलो अवसर हो । मोदीले यस अवसरलाई उपयोग गर्न चाहनुभएको छ । 

मोदी त्यागी नेता हुनुहुन्छ । परिवारवादबाट मुक्त, त्याग र निःस्वार्थपूर्ण सेवाका कारण उहाँको लोकप्रियता बढेको हो । इमानदार र त्यागी नेताले देशलाई राजनीतिक स्थिरताका साथ अगाडि बढाउन महत्वपूर्ण योगदान पु¥याउन सक्छ भन्ने कुरा मोदीले प्रमाणित गर्नुभएको छ । भ्रष्टाचार नियन्त्रणमा मोदीको शून्य सहनशीलताले ठुलो काम गरेको छ । अपराध, भ्रष्टाचार र अनियमितता सबैभन्दा ठुलो चुनौती बनेको भारतमा अहिले भ्रष्टाचार र अनियमितताविरुद्ध अभियान नै चलाइएको छ । भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासन दिने मोदीको यो नीतिप्रति धेरै भारतीय जनता आशावादी बनेका छन् । त्यही भएर आउँदो लोक सभा चुनाव पनि मोदीकै पक्षमा जाने अनुमान गरिएको छ । 

 

Author

रामप्रसाद आचार्य